जनकपुरधाम, ४ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल तथा सरोकारवालाहरूलाई निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।

सोमबार जनकपुरधाममा आयोजित ‘निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले आचारसंहिता कानुनी कागज मात्र नभई लोकतन्त्रलाई सुदृढ बनाउने महत्वपूर्ण आधार भएको बताए ।

उनले राजनीतिक दलकै सहमतिमा निर्माण गरिएको आचारसंहिता कार्यान्वयनमा कमजोरी देखिनु उचित नहुने स्पष्ट पारे ।

मुख्यमन्त्री यादवका अनुसार निर्वाचनमा हुने अनावश्यक खर्च र तडकभडकले लोकतान्त्रिक प्रतिस्पर्धालाई असन्तुलित बनाउने गरेको छ ।

‘चुनाव अत्यधिक खर्चिलो बन्दा योग्य र सक्षम व्यक्तिहरू उम्मेदवार बन्न हिच्किचाउने अवस्था सिर्जना हुन्छ,’ उनले भने, ‘त्यसैले आचारसंहिताको पूर्ण पालना गरिए निर्वाचन खर्च नियन्त्रण भई सुशासन स्थापनामा टेवा पुग्छ ।’

उनले विगतका निर्वाचनहरूको तुलनामा यसपटक आचारसंहिता उल्लङ्घनका घटनामा केही कमी आएको उल्लेख गर्दै त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे । साथै, निर्वाचनलाई मर्यादित बनाउन राज्य संयन्त्र, सुरक्षा निकाय र सञ्चारमाध्यमहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जवराले निर्वाचन प्रक्रियालाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन आचारसंहिताको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताए ।

उनले निर्वाचनलाई कम खर्चिलो र तडकभडकमुक्त बनाउन राजनीतिक दल, उम्मेदवार तथा मतदाता सबैको साझा जिम्मेवारी हुने उल्लेख गरे ।

आयुक्त जवराका अनुसार आचारसंहिता उल्लङ्घनका घटना न्यूनिकरण गर्न आयोगले अनुगमन संयन्त्रलाई सक्रिय बनाएको छ । सामाजिक सञ्जाल, प्रचारप्रसार सामग्री, सार्वजनिक सभा तथा आर्थिक खर्चको निगरानीलाई थप प्रभावकारी बनाइएको जानकारी दिँदै उनले सचेतनाको अभावलाई पनि चुनौतीका रूपमा औँल्याए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, सञ्चारकर्मी तथा प्रशासनिक अधिकारीहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले निर्वाचनलाई स्वस्थ प्रतिस्पर्धाको उत्सवका रूपमा मनाउन आचारसंहिताको अक्षरशः पालना आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

लोकतन्त्रको आधार नै निष्पक्ष निर्वाचन भएकाले त्यसलाई स्वच्छ र मर्यादित बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा वक्ताहरूले जोड दिए ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन भएमा आगामी निर्वाचन थप पारदर्शी, विश्वसनीय र जनमुखी बन्ने विश्वास गरिएको छ ।