जनकपुरधाम, ४ फागुन । भौतिक पूर्वाधार विकास कार्यालय सर्लाही, मलंगवामा कार्यरत ईन्जिनियर प्रमोद कुमार यादवको अज्ञात समूहले गोली हानी हत्या गरेको घटनाप्रति नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश प्रदेशले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

एशोसिएसनद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सिरहा जिल्लाको सुखिपुर नगरपालिका–९ निवासी ईन्जिनियर यादवलाई फाल्गुन ३ गते साँझ करिब ७:५० बजे गोली प्रहार गरी हत्या गरिएको हो ।

उक्त घटनाले सम्पूर्ण ईन्जिनियर तथा प्राविधिक समुदाय स्तब्ध र मर्माहत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एशोसिएसनका प्रदेश सभापति ई. गौरी पण्डित र सचिव ई. अजित कुमार मण्डलद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वर्गीय ईन्जिनियर यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।

साथै, घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गर्न प्रशासनसँग माग गरिएको छ ।

दोषीलाई कानुनी दायरामा नल्याइएमा एशोसिएसन थप संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

ईन्जिनियरमाथि भएको यस प्रकारको जघन्य आपराधिक घटनाले प्रदेशमा कार्यरत प्राविधिक सुरक्षाको विषय पुनः प्रश्नचिन्हमा परेको सरोकारवालाहरूले बताएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।