महोत्तरी, ४ फागुन । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म सम्पादन गरेका प्रमुख कामहरूको प्रगति विवरण सार्वजनिक गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सञ्जय कुमार पोखरेलद्वारा उपलब्ध तथ्यांकअनुसार नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रदेखि न्यायिक तथा प्रशासनिक सेवासम्म उल्लेख्य प्रगति भएको देखिएको हो ।

माघसम्म वंशजतर्फ ५ हजार ३७८ र वैवाहिकतर्फ ९५७ गरी कुल ६ हजार ३३५ नयाँ नागरिकता प्रमाणपत्र जारी गरिएको छ । यस अवधिमा ३ जनालाई गैरआवासीय नागरिकता प्रदान गरिएको छ भने ६ हजार ३५८ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

अंगीकृत नागरिकता ३६, नाबालक परिचयपत्र ९१ जनालाई वितरण गरिएको छ । साथै १४ जनाले नागरिकता परित्याग र ४ जनाको नागरिकता बदर गरिएको कार्यालयले जनाएको छ ।

राहदानीतर्फ ४ हजार ९१७ आवेदन संकलन गरिएको छ भने ५ हजार २५२ राहदानी वितरण गरिएको छ ।

राष्ट्रिय परिचयपत्र कार्यक्रम अन्तर्गत १८ हजार १३ जनाको विवरण संकलन, ६ हजार ६६६ वितरण तथा ५३४ संशोधन गरिएको छ ।

कार्यालयमा ९७ मुद्दा दर्ता भएकोमा १८७ मुद्दा फर्छ्यौट गरिएको छ । वैदेशिक रोजगारीसम्बन्धी १०६ निवेदन दर्ता भई ४६ फर्छ्यौट गरिएको छ ।

संस्था दर्ता तथा नविकरणतर्फ १३८ नविकरण, २ शाखा/कार्य क्षेत्र विस्तार र ७२६ शान्ति सुरक्षा तथा संस्था दर्तासम्बन्धी कार्य सम्पन्न भएका छन् ।

हातहतियार नविकरण २३ र इजाजत पत्र दस्तुरबाट उल्लेख्य राजस्व संकलन भएको छ ।

माघसम्म प्रशासनिक सेवा शुल्कबाट १८ लाख ३३ हजार ५०० रुपैयाँ, प्रशासनिक जरिवानाबाट ८९ हजार ७२५ रुपैयाँ तथा न्यायिक जरिवानाबाट ८२ लाख ३३ हजार ३०० रुपैयाँ संकलन भएको छ ।

राहदानी शुल्कबाट मात्र २९ करोड ८३ लाख ९३ हजार ३७५ रुपैयाँ राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ ।

यसैगरी परीक्षा शुल्क, संघसंस्था दर्ता तथा नविकरण शुल्कबाट समेत लाखौं रुपैयाँ राजस्व संकलन भएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरणले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सेवामा सेवाग्राहीको चाप उच्च रहेको देखाउँछ । साथै मुद्दा फर्छ्यौटको संख्या दर्ताभन्दा बढी हुनु प्रशासनिक चुस्तताका रूपमा व्याख्या गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी महिनाहरूमा सेवा प्रवाहलाई अझ सरल, छिटो र पारदर्शी बनाउने प्रतिबद्धता जनाएको छ ।