महोत्तरी, ४ फागुन । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आउँदो प्रतिनिधि सभा सदस्य निर्वाचनलाई बालमैत्री, मर्यादित र कानूनसम्मत बनाउन आग्रह गर्दै निर्वाचन गतिविधिमा बालबालिकाको प्रयोग नगर्न सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई सचेत गराएको छ ।

कार्यालयद्वारा जारी सूचनामा बालबालिका राष्ट्रका भविष्य भएकाले उनीहरूलाई राजनीतिक प्रभाव, जोखिमपूर्ण गतिविधि तथा मानसिक र शारीरिक शोषणबाट जोगाउनु राज्य, राजनीतिक दल र सम्पूर्ण समाजको साझा दायित्व भएको उल्लेख गरिएको छ ।

नेपालको संविधान, बालअधिकारसम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार बालबालिकालाई कुनै पनि राजनीतिक गतिविधिमा प्रयोग गर्न नपाइने व्यवस्था रहेको प्रशासनले स्मरण गराएको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र बालमैत्री वातावरणमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने सूचनामा जनाइएको छ ।

विशेष गरी चुनावी सभा, र्‍याली, प्रचारप्रसार, नारा जुलुस लगायत गतिविधिमा बालबालिकालाई सहभागी नगराउन प्रशासनले आग्रह गरेको छ ।

सूचना जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलले कानुन विपरीत बालबालिकाको प्रयोग गरिएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएका छन् ।

प्रशासनको यो कदमले निर्वाचन प्रक्रियालाई थप जिम्मेवार र संवेदनशील बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।