स्थानीय समस्या समाधान नै मेरो पहिलो प्राथमिकता: परमेश्वर साह

जनकपुरधाम, ३ फागुन । धनुषा–३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि दिनानुदिन तिव्र बन्दै गएको छ ।
यसैक्रममा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार परमेश्वर साहले घरदैलो अभियानलाई व्यापक बनाउँदै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेका छन् ।
विगत केही दिनयता साह स्वयं पार्टीका नेता कार्यकर्तासहित टोलटोल पुगेर मतदातासँग भेटघाट गर्दै आएका छन् । उनले चुनावी सभाभन्दा प्रत्यक्ष संवादलाई प्रभावकारी माध्यमका रूपमा लिँदै स्थानीय जनताको सुझाव, गुनासा र अपेक्षा सुन्ने कार्यलाई प्राथमिकता दिएका छन् ।
घरदैलोका क्रममा मतदाताले विशेषगरी खानेपानी अभाव, ढल निकासको अव्यवस्था, वर्षौंदेखि स्तरोन्नति हुन नसकेका सडक, युवामा बढ्दो बेरोजगारी तथा कृषि क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएका छन् । ती समस्याहरूलाई दीर्घकालीन योजनामार्फत समाधान गर्ने प्रतिबद्धता साहले व्यक्त गरेका छन् ।
‘यो निर्वाचन प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभई धनुषा–३ को आगामी दिशा तय गर्ने अवसर पनि हो,’ साहले भने, ‘जनताले दिएको विश्वासलाई सदैव सम्मान गर्दै पारदर्शी र इमानदार ढंगले काम गर्नेछु । विकासका योजनामा कुनै प्रकारको पक्षपात हुने छैन ।’

साहका अनुसार क्षेत्रको समग्र विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच समन्वयकारी भूमिका निर्वाह गर्न आवश्यक छ । उनले आधारभूत पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा जोड दिने योजना अघि सारेका छन् ।
पार्टीका नगर सचिव प्रशान्त झाले अधिकांश वडामा घरदैलो अभियान सम्पन्न भइसकेको जानकारी दिएका छन् । उनका अनुसार बाँकी वडाहरूमा पनि अभियान तीव्र गतिमा अघि बढिरहेको छ र मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।
जसपाले यस निर्वाचनमा समावेशी विकास, पहिचानको संरक्षण र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाएको जनाएको छ । पार्टीले मतदातालाई छाता चुनाव चिन्हमा मतदान गरी वैकल्पिक राजनीतिक शक्तिलाई बलियो बनाउन आग्रह गरेको छ ।
धनुषा–३ मा बहुदलीय प्रतिस्पर्धा रहेकाले चुनावी समीकरण रोचक बन्दै गएको छ । उम्मेदवारहरू स्थानीय मुद्दामा केन्द्रित देखिएका छन् भने घरदैलो अभियानलाई निर्णायक रणनीतिका रूपमा लिइएको छ ।
मतदातासँग प्रत्यक्ष सम्पर्क र विश्वास निर्माण नै यसपटकको निर्वाचन परिणामको मुख्य आधार बन्न सक्छ ।
यसै सन्दर्भमा साहले जनतासँगको संवादलाई निरन्तरता दिने र चुनाव जितेपछि पनि नियमित रूपमा जनताको बीचमा रहने प्रतिबद्धता दोहोर्याएका छन् ।
‘विकास कागजमा नभई व्यवहारमा देखिनुपर्छ,’ उनले भने, ‘धनुषा–३ लाई समृद्ध र व्यवस्थित बनाउने लक्ष्यसहित हामी अघि बढेका छौं ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


