मनिष झाको दाबी— ‘अब परिवर्तन अपरिहार्य’

जनकपुरधाम, ३ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ मा राजनीतिक सरगर्मी बढ्दै गएको छ ।
आइतबार बिहान दिनेेश कुमार साह, लालबाबु साह र बाल्मिकि साह औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मनिष झाले स्वागत गरेका हुन् ।
रास्वपाबाट धनुषा–३ का उम्मेदवार झाले पछिल्लो समय पार्टीप्रति जनआकर्षण बढ्दै गएको दाबी गरे ।

‘धनुषा–३ का आम मतदाता अब पुराना प्रवृत्तिबाट मुक्त हुन चाहन्छन् । सुशासन, पारदर्शिता र उत्तरदायित्वसहितको नयाँ राजनीतिक संस्कारको खोजी भइरहेको छ,’ उनले भने ।
झाका अनुसार समाजका विभिन्न तह र समुदायबाट पार्टीमा प्रवेश गर्ने क्रमले परिवर्तनको अभियानलाई थप ऊर्जा दिएको छ ।
‘हामी व्यक्तिवाद नभई नीति र प्रणाली सुधारको एजेन्डा लिएर अघि बढिरहेका छौं । युवाशक्ति, व्यवसायी, किसान र बुद्धिजीवी वर्गको साथले यो अभियान अब रोकिने छैन,’ उनले भने ।
कार्यक्रममा बोल्दै उनले स्थानीय विकास, रोजगारी सृजना, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याए ।
‘जनताको मत परिवर्तनका लागि हुनेछ । धनुषा–३ मा नयाँ राजनीतिक अभ्यासको सुरुआत गरिनेछ,’ झाको भनाइ थियो ।
रास्वपाले ‘घण्टी’ चुनाव चिन्हमार्फत मतदातासँग प्रत्यक्ष सम्पर्क अभियानलाई तीव्र बनाएको जनाएको छ ।
पार्टी कार्यकर्ताहरूका अनुसार पछिल्लो प्रवेश र समर्थनले धनुषा–३ मा चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


