जनकपुरधामबाट कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक हुने

जनकपुरधाम, ३ फागुन । नेपाली कांग्रेसले सार्वजनिक गर्ने भनिएको प्रतिनिधिसभा निर्वाचन केन्द्रित प्रतिज्ञापत्र कार्यक्रम सारिएको छ ।
यसअघि आइतबार पार्टी केन्द्रीय कार्यालय विपीनगर, सानेपामा तय गरिएको कार्यक्रम स्थगित गर्दै अब जनकपुरधाममा सार्वजनिक गर्ने निर्णय गरिएको हो ।
पार्टीका प्रवक्ता देवराज चालिसेले संशोधित कार्यतालिकाअनुसार प्रतिज्ञापत्र जनकपुरधाममा हुने चुनावी सभामार्फत सार्वजनिक गरिने जानकारी दिए ।
उनका अनुसार कांग्रेसले फागुन ६ गते मधेश प्रदेशको जनकपुरधामबाट चुनावी अभियानको औपचारिक शुरूवात गर्दैछ र सोही अवसरमा प्रतिज्ञापत्र सार्वजनिक गरिनेछ ।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूलाई आइतबारसम्म घोषणापत्र पेस गर्न समयसीमा तोकेको छ ।
प्रवक्ता चालिसेका अनुसार आयोगमा प्रतिज्ञापत्र आइतबार नै बुझाइने छ भने सार्वजनिक कार्यक्रम भने बुधबारका लागि सारिएको हो ।
कांग्रेसले मधेश प्रदेशबाटै चुनावी अभियान प्रारम्भ गर्दै संगठनात्मक सन्देश दिन खोजेको विश्लेषकहरूको भनाइ छ ।
जनकपुरधाममा हुने सभालाई पार्टीले विशेष महत्वका साथ तयारी गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


