जनकपुरधामसहित देशभर महाशिवरात्रि धुमधामका साथ मनाइँदै

जनकपुरधाम, ३ फागुन । आराध्यदेव भगवान् शिवको पूजा–आराधनाका लागि समर्पित महाशिवरात्रि पर्व जनकपुरधामसहित देशभर आइतबार श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ ।
फागुन कृष्ण चतुर्दशीको मध्यरातमा पर्ने यस पर्वका अवसरमा बिहानैदेखि शिवालयहरूमा भक्तजनको उल्लेख्य भीड लागेको छ ।
जनकपुरधामस्थित प्रसिद्ध शिवमन्दिरहरूमा भक्तजनहरूको घुइँचो देखिएको छ । श्रद्धालुहरू बिहानै नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालय पुगेर विधिपूर्वक पूजा–अर्चना गरिरहेका छन् ।
पञ्चाङ्ग अनुसार आइतबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि रहेको र त्यसपछि चतुर्दशी प्रारम्भ हुनेछ । चतुर्दशी तिथि सोमबार दिउँसो २ः५१ बजेसम्म रहने जनाइएको छ ।
मध्यरातमा विशेष पूजा, आरती र जाग्राम कार्यक्रम आयोजना गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
वैदिक सनातन हिन्दू परम्पराअनुसार शिवजी प्रकट भएको रातको स्मरणमा मनाइने महाशिवरात्रि कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा वर्णित छ ।
धार्मिक मान्यताअनुसार यस दिन व्रत बस्ने, उपवास गर्ने र रातभर जाग्राम बस्ने भक्तजनले विशेष पुण्य प्राप्त गर्ने विश्वास छ ।
भक्तजनले भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाई पूजा–अर्चना गर्ने परम्परा छ ।
दीनदुःखी र कष्टमा परेका जीवको उद्धार गर्ने आशुतोष भगवान् शिवप्रति समर्पित यो पर्वलाई धर्मको जागरणको दिनका रूपमा पनि लिइन्छ ।
स्थानीय परम्पराअनुसार आजको दिन भगवान् महादेवलाई जाडो लाग्ने विश्वासले घरघर तथा मठमन्दिरमा दाउरा संकलन गरी धुनी जगाउने र भजनकीर्तनसहित प्रसाद तयार गरी ग्रहण गर्ने चलन छ ।
सुरक्षा व्यवस्थालाई समेत कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
महाशिवरात्रिको अवसरमा देशका प्रमुख शिवालयहरूमा विशेष मेला तथा धार्मिक कार्यक्रम आयोजना गरिएको छ ।
श्रद्धालुहरू भजन–कीर्तनमा सहभागी भई शिवभक्तिमा लीन भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


