जनकपुरधाम, २ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत नगराइन नगरपालिकामा नगर स्तरीय युवा भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल तरुण दलको संयोजनमा सम्पन्न कार्यक्रममा उल्लेख्य संख्यामा युवाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै धनुषा–३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विमलेन्द्र निधिले निर्वाचनमा युवाको भूमिका निर्णायक हुने बताए ।

उनले संगठन सुदृढीकरणसँगै घरदैलो अभियानलाई अझ प्रभावकारी बनाउन आग्रह गर्दै भने, ‘परिवर्तनको अभियानमा युवाशक्ति अग्रपंक्तिमा उभिनुपर्छ । तपाईंहरूको सक्रियता र एकताले नै धनुषा–३ मा सकारात्मक परिणाम ल्याउनेछ ।’

निधिले युवालाई सामाजिक सञ्जालदेखि टोल टोलसम्म मतदाता भेटघाट अभियानमा सक्रिय हुन आह्वान गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा र विकासको निरन्तरताका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारे ।

उनले क्षेत्रको पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

युवा भेलामा सहभागी वक्ताहरूले संगठन विस्तार, मतदाता सचेतना तथा घरदैलो कार्यक्रमलाई योजनाबद्ध ढंगले सञ्चालन गर्ने निर्णय गरेका छन् ।

भेलाले आगामी दिनमा प्रत्येक वडामा युवा परिचालनलाई थप तीव्रता दिने निष्कर्ष निकालेको जनाइएको छ ।