जनकपुरधाममा वृषेशचन्द्र लालको गद्यवाचन सम्पन्न, अशोक दत्तलाई मैथिली साहित्य पुरस्कार

जनकपुरधाम, २ फागुन । मैथिली साहित्यकार सभा जनकपुरधामको आयोजनामा शनिबार जनकपुरधाममा एकल मैथिली गद्यवाचन कार्यक्रम तथा ‘भुवनेश्वरी उदितनारायण मैथिली साहित्य पुरस्कार–२०८२’ वितरण समारोह सम्पन्न भएको छ ।
सभाका अध्यक्ष अरवीन्द यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार वृषेशचन्द्र लालले आफ्ना कथा तथा कविताहरू वाचन गरेका थिए ।
करिब ६ दशकदेखि निरन्तर मैथिली साहित्य सिर्जनामा सक्रिय लालका गद्य र पद्य कृतिहरू साहित्यप्रेमीमाझ चर्चित मानिन्छन् ।
कार्यक्रमका क्रममा समिक्षक रोशन जनकपुरीले लालका कथा तथा कवितामाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै उनको साहित्यिक योगदान, भाषा शैली र विषयवस्तुको गहिराइबारे विश्लेषण गरेका थिए ।
उनले लालको लेखनमा मिथिलाको समाज, संस्कृति र समकालीन यथार्थको सशक्त अभिव्यक्ति पाइने उल्लेख गरे ।
कार्यक्रममा प्रतिष्ठित गीतकार तथा साहित्यकार अशोक दत्तलाई ‘भुवनेश्वरी उदितनारायण मैथिली साहित्य पुरस्कार–२०८२’ अर्पण गरियो ।
पुरस्कार ग्रहण गर्दै दत्तले मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा कवियत्री पूनम झा मैथिलीलाई ‘गार्गी सम्मान’ले सम्मानित गरियो ।
कार्यक्रममा मिथिला नाट्यकला परिषद्का अध्यक्ष सुनिल मल्लिक, साहित्यकार प्रेम विदेह ललन, कवियत्री पूनम झा मैथिली, विन्दु ठाकुरलगायत साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
संकटमोचन देवशरण रामरती मावि परिसरमा सम्पन्न उक्त कार्यक्रममा मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि यस्ता साहित्यिक गतिविधि निरन्तर सञ्चालन गरिने आयोजकले जनाएको छ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


