जनकपुरधाम, २ फागुन । निर्वाचन आचारसंहिता अनुगमन जिल्ला समितिको संयोजकत्वमा निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृतको कार्यालयमा आज आचारसंहिता परिपालना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सुरक्षा निकायका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अनुगमनका क्रममा विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरूले आचारसंहिताविपरीत टाँसेका करिब ३०० भन्दा बढी पोस्टर, ब्यानर र वाल स्टिकरहरू हटाइएको समितिले जनाएको छ ।

सार्वजनिक स्थल, सरकारी संरचना तथा निषेधित स्थानहरूमा प्रचार सामग्री राखिएको पाइएपछि तत्काल हटाइएको हो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृतले आचारसंहिताका प्रमुख प्रावधान, निर्वाचनको समग्र तयारी तथा मतदान व्यवस्थापनबारे जानकारी गराए ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले निर्वाचनलाई सुरक्षित, व्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा योजना र समन्वयात्मक व्यवस्थापनबारे धारणा राखे ।

राजनीतिक दल तथा उम्मेदवारहरूले आचारसंहिता पूर्ण रूपमा पालना गर्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, मितव्ययी र पारदर्शी ढंगले सम्पन्न गर्न प्रतिबद्धता जनाएका छन् ।

उनीहरूले निर्वाचन प्रक्रियालाई मर्यादित बनाउन सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा अनुगमन अधिकृतहरूले आचारसंहिताका व्यवस्था, उल्लंघन भएमा हुने कानुनी परिणाम तथा कारबाहीका विषयमा प्रस्तुतीकरण गर्दै सर्वपक्षीय सहयोगका लागि आग्रह गरेका थिए ।