क्षिरेश्वरनाथमा अन्तर्राष्ट्रिय कण्डम दिवस मनाइयो

जनकपुरधाम, २ फागुन । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
स्वास्थ्य कार्यालय, प्रादेशिक अस्पतालको आयोजना, क्षिरेश्वरनाथ नगरपालिकाको समन्वय तथा AHF Nepal को सहयोगमा महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कण्डमको सही प्रयोग विधि, यसको महत्व, एचआइभी/एड्स कसरी सर्छ भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।
सहभागी स्वयंसेविकाहरूलाई समुदायस्तरमा सुरक्षित यौन व्यवहारबारे सचेतना फैलाउन आग्रह गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा वक्ताहरूले असुरक्षित यौन सम्पर्क, संक्रमित सुई/सिरिन्जको प्रयोग तथा संक्रमित आमाबाट शिशुमा एचआइभी सर्ने जोखिमबारे जानकारी दिँदै कण्डम प्रयोगलाई सबैभन्दा प्रभावकारी रोकथामका उपायमध्ये एक भएको बताए ।
उनीहरूले समाजमा अझै पनि एचआइभी/एड्सबारे भ्रम र लाजका कारण खुला छलफल हुन नसकेको उल्लेख गर्दै यस्ता कार्यक्रमले जनचेतना विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यसैबीच, प्रदेश र जिल्लामा एचआइभी संक्रमणको वर्तमान अवस्थाबारे पनि जानकारी आदानप्रदान गरिएको थियो । जोखिम समूह पहिचान, परीक्षण तथा परामर्श सेवा विस्तार र समयमै उपचारमा पहुँच बढाउनुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो क्षेत्रमा घरदैलो अभियान, सचेतनामूलक छलफल र परामर्श कार्यक्रममार्फत सुरक्षित व्यवहार प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले एचआइभी/एड्स नियन्त्रणमा समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्ने विश्वाश गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


