गेरुका नदी संरक्षण अभियानको ३ वर्ष पूरा, सरसफाइदेखि वृक्षारोपणसम्म विविध कार्यक्रम

जनकपुरधाम, २ फागुन । धार्मिक, सांस्कृतिक, आर्थिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण मानिएको गेरुका नदी संरक्षण तथा सफाइ अभियानले तीन वर्ष पूरा गरेको अवसरमा शनिबार विशेष कार्यक्रमका साथ वार्षिकोत्सव मनाइएको छ ।
अभियानको तेस्रो वर्षगाँठका अवसरमा नदी किनारमा सरसफाइ, वृक्षारोपण, झण्डोतोलन तथा पूजा–आरती जस्ता कार्यक्रम सम्पन्न गरिएको हो ।
स्थानीयवासी, अभियन्ता, सामाजिक संघसंस्था तथा युवाहरूको सहभागितामा कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ ।
तीन वर्षअघि आजकै दिनबाट प्रत्येक शनिबार साप्ताहिक रूपमा नदी सफाइ अभियान सुरु गरिएको थियो । त्यसयता नियमित सरसफाइ, वृक्षारोपण, ‘नदी संवाद’ कार्यक्रम, नदीको संगमदेखि उद्गमसम्म पैदल यात्रा लगायत जनचेतनामूलक गतिविधिहरू सञ्चालन हुँदै आएका छन् ।
अभियानकर्ताहरूका अनुसार यस अभियानले नदी संरक्षणमा मात्रै नभई स्थानीय समुदायबीच सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न समेत महत्वपूर्ण भूमिका खेलेको छ ।
धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू नदी केन्द्रित रूपमा आयोजना हुन थालेपछि स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ ।

पर्यावरणीय सन्तुलन कायम राख्दै नदीलाई स्वच्छ र जीवन्त बनाउने लक्ष्यसहित सुरु गरिएको अभियानले क्रमशः जनसमर्थन बढाउँदै लगेको छ ।
आगामी दिनमा पनि नदी संरक्षणलाई अझ प्रभावकारी र दिगो बनाउन कार्यक्रमहरूलाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


