जनकपुरधाममा फागुन ५ देखि पाँचौं साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदै

जनकपुरधाम, २ फागुन । जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको पाँचौं श्रृंखला भव्यताका साथ सञ्चालन हुने भएको छ ।
मैथिली विकास कोषको आयोजना, शिक्षा तथा संस्कृति मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाको सह-आयोजनमा हुने यो महोत्सव फागुन ५ गते मंगलबारदेखि ८ गते शुक्रबार (१७–२० फरवरी २०२६) सम्म चल्नेछ ।
महोत्सव उद्घाटनको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा कोषका अध्यक्ष जीवनाथ चौधरीले भने, ‘मैथिली भाषा, साहित्य र संस्कृति हाम्रो पहिचान हुन् । हामीले यस महोत्सवमार्फत चार दिने कार्यक्रम अवधिभरि भाषा, साहित्य, कला, नाटक र सामाजिक विमर्शलाई जिवित राख्ने प्रयास गरेका छौँ । जनकपुरधामवासीले यस महोत्सवमा आफ्नो सक्रिय सहभागिता देखाउनु नै हाम्रो उत्साह र प्रतिबद्धताको प्रतिफल हो ।’
उनले थपे, ‘मैथिली विकास कोष स्थापना कालदेखि नै भाषा, साहित्य, संस्कृति र कलाक सम्मानमा निरन्तर लागिरहेको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने महोत्सवले सांस्कृतिक सृजनालाई प्रवर्द्धन गर्नुका साथै समाजका संवेदनशील विषय, सामाजिक न्याय, स्त्रीवाद, दलित विमर्श र शिक्षा जस्ता विषयमा गहन विमर्शको माध्यम पनि बनेको छ ।’
यस महोत्सवमा कुल २० भन्दा बढी विभिन्न विषयमा कार्यक्रम आयोजना गरिनेछ । उद्घाटन समारोहपछि शहरको शोभा यात्रासहित सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ ।
महोत्सव अवधिभरि विद्यालयस्तरीय वक्तृत्वकला, कविता वाचन प्रतियोगिता, लोकनृत्य प्रतियोगिता, मिथिला चित्रकला कार्यशाला र प्रदर्शनी, पुस्तक प्रदर्शनी, मैथिली आख्यान लेखन तथा विभिन्न विमर्शात्मक कार्यक्रमहरु समावेश छन् ।
नाट्य क्षेत्रमा नेपालको मिनाप, रङ्गदर्पण जनकपुर र भारतको चेतना समिति पटना लगायतका नाट्य समूहले आफ्नो प्रस्तुति दिनेछन् । प्रमुख नाटकहरुमा छुतहा घैल, कथा नइ भेटल, जटजटिन र देसिल बयना बहुरुपिया प्रदर्शन हुनेछन् ।
सांस्कृतिक कार्यक्रमका साथै समाजिक विमर्शहरुमा उठलै किए विहाडि? (राजनीति), पग पग पोखरी पियासल लोक, भाषा: राजकाज र समाज, मैथिली साहित्यक समकालीन स्त्रीवाद, सामाजिक सञ्जाल: अवसर र चुनौती, लगायतका महत्वपूर्ण विषयहरुमा विशेषज्ञहरूले आफ्ना दृष्टिकोण राख्नेछन् ।
महोत्सवको विशेष आकर्षणमा मिथिला भोजन प्रदर्शनी, चित्रकला प्रदर्शनी, हस्तकला प्रदर्शनी, नेपाली र भारतीय विद्वान तथा गायक-गायिकाको सांस्कृतिक प्रस्तुति समावेश छन् ।
कोषका अध्यक्ष चौधरीले भने, ‘सञ्चारकर्मी, साहित्यकार र जनकपुरधामवासीको सक्रिय सहभागिता नै हाम्रो महोत्सवलाई सफल बनाउने आधार हो । हामी आशा गर्छौं कि यो महोत्सवले भाषा, साहित्य, कला र संस्कृतिमा दीर्घकालीन योगदान दिनेछ ।’
महोत्सव अन्तर्गत चौथो दिन (फागुन ८ गते) समापन समारोहमा पुरस्कार वितरण, कवि गोष्ठी र सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ ।
मैथिली विकास कोषले विगतमा जस्तै यस महोत्सवमार्फत भाषा, साहित्य, कला र संस्कृति प्रति जनकपुरधामवासीको प्रेम र सहभागितालाई अझ सशक्त बनाउने उद्देश्य राखेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


