माघ २६ को छापा प्रकरण: वीरगञ्जमा ढुंगामुढा गर्ने ६ आरोपी हिरासतमा

पर्सा, २ फागुन । वीरगञ्जमा सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज–१० का ४६ वर्षीय प्रमोदकुमार कानू, वीरगञ्ज–१ का ३८ वर्षीय दीपराज सहनी मलाह, वीरगञ्ज–१० का २० वर्षीय कुञ्जन सर्राफ, भारतको बिहार रक्सौलका ४० वर्षीय प्रभु महतो, भागलपुर पोडियाका ३५ वर्षीय पृतमकुमार चौधरी र पर्साको विन्दवासिनी गाउँपालिका–५ का ५५ वर्षीय श्रीचन्द्रप्रसाद साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।
उनीहरूलाई अनुसन्धानका लागि सात दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालतबाट प्राप्त गरिएको डीएसपी बस्नेतले जानकारी दिए ।
घटनासँग सम्बन्धित विवरण अनुसार गत माघ २६ गते वीरगञ्ज–१० आदर्शनगरस्थित रुञ्चे मदन भनिने मदन गुप्ताको गोदाममा सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा हानेको समयमा पक्राउ परेका व्यक्तिहरूले ढुंगामुढा गरेका थिए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


