रौतहट, २ फागुन । जिल्ला प्रशासन कार्यालय रौतहटले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा बालबालिकालाई कुनै पनि राजनीतिक वा चुनावी गतिविधिमा प्रयोग नगर्न कडा निर्देशन जारी गरेको छ ।

सहायक सिडिओ जितेन्द्र कुमार यादवले प्रेस विज्ञप्तिमार्फत सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सरोकारवालालाई यस्तो आग्रह गरेका छन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘बालबालिका राष्ट्रको भविष्य हुन् । उनीहरूलाई राजनीतिक प्रभाव, जोखिमपूर्ण गतिविधि तथा मानसिक शारीरिक शोषणबाट जोगाउनु राज्य, राजनीतिक दल र सम्पूर्ण समाजको साझा दायित्व हो ।’

यसैसँगै, नेपाल सरकारको संविधान, बाल अधिकार सम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार पनि बालबालिकालाई चुनावी काममा प्रयोग गर्न नपाइने व्यवस्था रहेको प्रशासनले स्मरण गराएको छ ।

निर्वाचन प्रक्रियालाई पूर्ण रूपमा बालमैत्री, मर्यादित र कानुनसम्मत बनाउन प्रशासनले चुनावी सभा, जुलुस, प्रचारप्रसार तथा अन्य कुनै पनि गतिविधिमा बालबालिकाको सहभागिता नगर्न सबै सरोकारवालालाई आग्रह गरेको छ ।