जनकपुरधाम, २ फागुन । जनमत पार्टीका केन्द्रीय सदस्य तथा धनुषा–३ का प्रभावशाली मुस्लिम नेता अब्दुल हलीम आजदेखि औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कुनै समय धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट विमलेन्द्र निधिसँगै प्रतिस्पर्धा गरेका हलीमले अब भने उनै निधिलाई विजयी गराउने प्रतिबद्धतासहित कांग्रेस रोजेका हुन् ।

आज आयोजित कार्यक्रमबीच निधिकै हातबाट पार्टी प्रवेश गरेका हलीमले ‘जय नेपाल’को नारा लगाउँदै कांग्रेसको सिद्धान्त र लोकतान्त्रिक मूल्यप्रति आफू प्रतिबद्ध रहेको बताए ।

उनले आगामी निर्वाचनमा धनुषा–३ मा कांग्रेसलाई बलियो बनाउँदै निधिको जित सुनिश्चित गर्न सक्रिय भूमिका खेल्ने घोषणा गरे ।

हलीम जनमत पार्टीभित्र सक्रिय र संघर्षशील नेताका रूपमा चिनिँदै आएका थिए । विशेषगरी मुस्लिम समुदायमा उनको प्रभाव उल्लेखनीय मानिन्छ ।

कार्यक्रममा बोल्दै निधिले लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए । उनले हलीमको आगमनले कांग्रेस संगठन थप सशक्त हुने विश्वास व्यक्त गरे ।