जनकपुरधाम, २ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाले संगठनात्मक तयारीलाई तीव्र बनाएको छ ।

पार्टीको जिल्ला कार्यसमिति धनुषाले संघीय निर्वाचन सम्पादनका लागि गठन गरिएको विशेष समितिको संयोजकमा जितेन्द्र महासेठलाई मनोनयन गरेको हो ।

जिल्ला कार्यसमिति धनुषाले जारी गरेको पत्र अनुसार निर्वाचन लक्षित गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न, मतदातामाझ पार्टीको नीति कार्यक्रम पुर्‍याउन तथा दुईतिहाइ मत आह्वान गर्ने रणनीतिका साथ समिति गठन गरिएको उल्लेख गरिएको छ ।

उक्त समितिको नेतृत्व महासेठले गर्ने गरी औपचारिक मनोनयन गरिएको जनाइएको छ ।

पार्टीका जिल्ला सभापति लक्ष्मेश्वर यादवले हस्ताक्षर गरेको मनोनयन पत्रमा महासेठले जिम्मेवारी सफलतापूर्वक वहन गर्ने विश्वास व्यक्त गरिएको छ ।

पत्रमा संगठन विस्तार, घरदैलो कार्यक्रम, मतदाता अभिमुखीकरण तथा निर्वाचन व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्य रहेको उल्लेख छ ।

रास्वपाले धनुषा जिल्लामा निर्वाचनलाई केन्द्रमा राखेर संगठनात्मक पुनर्संरचना, कार्यकर्ता परिचालन तथा अभियान सुदृढीकरणमा जोड दिएको जनाएको छ ।

पार्टी स्रोतका अनुसार युवा मतदातालाई आकर्षित गर्ने, पारदर्शिता र सुशासनको एजेण्डालाई प्राथमिकतामा राख्ने तथा स्थानीय मुद्दालाई राष्ट्रिय बहससँग जोड्ने रणनीति तय गरिएको छ ।

मनोनयनपछि महासेठले पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले संगठनलाई थप सशक्त बनाउँदै निर्वाचन परिणाम पार्टीको पक्षमा ल्याउन सबै तहका नेता कार्यकर्तासँग समन्वय गरी काम गर्ने बताए ।

धनुषामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू आ–आफ्ना रणनीति सार्वजनिक गर्दै संगठनात्मक सक्रियता बढाइरहेका छन् ।