जनकपुरधाम, १ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत क्षीरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा उम्मेदवार डा. कृष्ण चन्द्र प्रसाद साहको प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको छ ।

स्थानीय बुद्धिजीवी, युवा, महिला समूह तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थितिमा कार्यालय उद्घाटन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. साहले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए ।

‘यहाँ देखिएको जनसमर्थनले परिवर्तनको अभियानलाई थप ऊर्जा दिएको छ,’ उनले भने, ‘अब विकास र सुशासनका एजेन्डालाई व्यवहारमै उतार्ने समय आएको छ ।’

डा. साहले क्षेत्र नं. ४ मा स्वास्थ्य, शिक्षा, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘म स्वास्थ्य क्षेत्रबाट आएको व्यक्ति हुँ । गुणस्तरीय स्वास्थ्य सेवा गाउँगाउँसम्म पुर्‍याउनु मेरो पहिलो लक्ष्य हो,’ उनले भने, ‘त्यससँगै युवालाई सीप र अवसर, किसानलाई उत्पादनको उचित मूल्य र नगर क्षेत्रलाई व्यवस्थित पूर्वाधार उपलब्ध गराउन नीतिगत पहल गर्नेछु ।’

उनले राजनीति केवल पद प्राप्तिको माध्यम नभई जनसेवाको जिम्मेवारी भएको उल्लेख गर्दै पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।

‘जनताको आवाजलाई सदनसम्म सशक्त रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले थपे ।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले पनि क्षेत्रको दीर्घकालीन विकासका लागि सक्षम र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए ।

उद्घाटन कार्यक्रमपछि डा. साहले घरदैलो अभियानलाई थप तीव्र बनाउने जानकारी दिए ।

उनले मतदातासँग छाता छापमा मतदान गरी साथ दिन आग्रह गर्दै भने, ‘यो चुनाव व्यक्तिको नभई समग्र क्षेत्रको भविष्यको चुनाव हो । तपाईंहरूको मतले परिवर्तनको मार्ग तय गर्नेछ ।’