जनकपुरधाम, १ फागुन । प्रधानमन्त्री कप पुरुष प्रादेशिक छनोट अन्तर्गत मधेश प्रदेशको खेलमा धनुषाले रौतहटलाई ९ विकेटले पराजित गरेको छ ।

रौतहटले दिएको ९७ रनको सामान्य लक्ष्य धनुषाका ब्याट्सम्यानहरुले सहज रुपमा पूरा गर्दै जित हासिल गरेको हो ।

रौतहटले १० विकेट गुमाउँदै मात्र ९७ रन बनाएको थियो । धनुषाको बलिङ उत्कृष्ट रहेको थियो । राजेश यादवले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिएर आफ्नो टोलीको जितमा ठुलो योगदान गरे ।

यसैगरी, आशिक बैठाले ७ ओभरमा २३ रन खर्चेर १ विकेट लिए भने मोहन घिमिरे र रेयाज शेखले पनि प्रभावशाली बलिङ प्रस्तुत गरे ।

धनुषाको जवाफी ब्याटिङ बलियो रह्यो । मायन यादवले ७२ बलमा ४४ रन बनाएर नटआउट रहेर टोलीलाई जित दिलाए ।

हिमांशु दत्तले छोटो समयमै १९ बलमा २० रन बनाउँदै पारीलाई बलियो बनाए भने हरिशंकर साहले ५१ बलमा २५ रन बनाएका थिए ।

आजको खेलमा धनुषाले १ विकेट गुमाएर लक्ष्य सहज रुपमा पूरा गर्यो ।

धनुषाका अन्य खेलाडीहरू अखिलेश ठाकुर, साइमोन रोय, रुपेश यादव, अभिजीत मण्डल, विशाल सुश्लिङ, अली अकबर अन्सारी, ओमप्रकाश साह र कृष मोहन साहले ब्याटिङको अवसर पाएनन् । तर, टोलीको विजयमा बलियो समर्थन प्रदान गरे ।

धनुषाको यो जितले टोलीको आत्मविश्वास बढाएको छ । रौतहटका खेलाडीहरूले भने कमजोर शुरुवातले गर्दा अपेक्षित प्रदर्शन दिन सकेनन् ।

यो जितसँगै धनुषाले मधेश प्रदेश प्रादेशिक पुरुष टोली छनोटमा आफ्नो स्थिति बलियो बनाएको छ ।