जनकपुरधाममा वृषेशचन्द्र लालको गद्यवाचन र मैथिली साहित्य पुरस्कार वितरण हुँदै

जनकपुरधाम, १ फागुन । मैथिली साहित्यकार सभा जनकपुरधामको आयोजनामा त्रैमासिक रूपमा सञ्चालन हुँदै आएको एकल मैथिली गद्यवाचन कार्यक्रम शनिबार आयोजना हुने भएको छ ।
सो अवसरमा ‘भुवनेश्वरी उदितनारायण मैथिली साहित्य पुरस्कार–२०८२’ समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
सभाका अनुसार यसपटकको एकल गद्यवाचनमा वरिष्ठ साहित्यकार वृषेशचन्द्र लालले आफ्नो रचना वाचन गर्ने कार्यक्रम तय गरिएको छ ।
करिब ६ दशकदेखि निरन्तर मैथिली साहित्य सिर्जनामा सक्रिय लालका आधा दर्जनभन्दा बढी गद्य तथा पद्य कृति प्रकाशित भइसकेका छन् । उनका रचना पाठक तथा श्रोतामाझ लोकप्रिय मानिन्छन् ।
कार्यक्रम संकटमोचन देवशरण रामरती मावि जनकपुरधाममा दिउँसो १ बजे सुरु हुने जनाइएको छ ।
गद्यवाचनसँगै ‘भुवनेश्वरी उदितनारायण मैथिली साहित्य पुरस्कार–२०८२’ एक जना प्रतिष्ठित मैथिली गीतकार तथा साहित्यकारलाई अर्पण गरिनेछ ।
यद्यपि, पुरस्कार प्राप्त गर्ने व्यक्तिको नाम कार्यक्रममै सार्वजनिक गरिने आयोजकको तयारी छ ।
मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नियमित रूपमा यस्ता साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको सभाले लेखक, साहित्यकार, साहित्यानुरागी तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई साहित्यिक उत्सवलाई सफल बनाउन आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


