जनमतका गापा अध्यक्ष महतो नेपाली कांग्रेसमा प्रवेश, विमलेन्द्र निधिद्वारा स्वागत

जनकपुरधाम, १ फागुन । जनमत पार्टीका मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष रामानन्द महतो व्यासले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनले शुक्रबार आयोजित एक कार्यक्रमबीच ‘जय नेपाल’को नारा लगाउँदै औपचारिक रूपमा कांग्रेसको सदस्यता लिएका हुन् ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विमलेन्द्र निधिले महतोलाई पार्टीमा स्वागत गर्दै टीका–माला लगाएर प्रवेश गराएका थिए ।
पार्टी प्रवेशपछि महतोले देशमा लोकतन्त्रको सुदृढीकरण र विकासको अभियानलाई अघि बढाउन आफू कांग्रेसमा आबद्ध भएको बताए ।
उनले नेपाली कांग्रेसको विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्यप्रति आस्था व्यक्त गर्दै अब पार्टीको संगठन विस्तार र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता जनाए ।

नेता निधिले महतो जस्ता अनुभवी र जनसम्पर्क भएका व्यक्तित्वको आगमनले धनुषामा कांग्रेस अझ सशक्त हुने विश्वास व्यक्त गरे । उनले आगामी निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गर्न सबै नेता कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान समेत गरे ।
महतोलाई साथ दिन स्थानीय स्तरका विभिन्न नेता तथा कार्यकर्ताहरू पनि कार्यक्रममा सहभागी भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


