जनकपुरधाम, १ फागुन । मधेश प्रदेश सभा सचिवालयले धनुषा निर्वाचन क्षेत्र नं. ३(२) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य दिपेन्द्र कुमार ठाकुरको निलम्बन समाप्त भएको जानकारी दिएको छ ।

नेपाल सरकार वादी र सुवोध कुमार ठाकुर समेत प्रतिवादी रहेको भ्रष्टाचार (हानी नोक्सानी) सम्बन्धी मुद्दा ०८१–CR–००२१ विशेष अदालतमा दर्ता भई विचाराधीन रहेपछि ठाकुर २०८२ जेठ २७ गतेदेखि निलम्बनमा परेका थिए ।

तर, विशेष अदालतले माघ २५ गते उक्त मुद्दामा सफाइ दिने फैसला गरेसँगै उनको निलम्बन कायम नरहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

अदालतबाट सफाइ पाएपछि फैसला भएकै मितिदेखि लागू हुने गरी ठाकुर पुनः पदमा बहाल भएको सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रदेश सभा सचिव बासु प्रसाद कोइरालाद्वारा जारी सूचनामा मुद्दाको अन्तिम किनारा लागिसकेको र निलम्बन स्वतः समाप्त भएको जानकारी गराइएको छ ।