युवाको भरोसा र सुशासन हाम्रो मुख्य एजेण्डा: मनिष झा

जनकपुरधाम, १ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ का बासिन्दाहरुसँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
स्थानीय टोल टोलमा पुगेर उनले नागरिकका समस्या सुन्दै समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका हुन् ।
घरदैलोका क्रममा उम्मेदवार झाले स्थानीय बासिन्दाले उठाएका खानेपानी, ढल व्यवस्थापन, सडक स्तरोन्नति, बेरोजगारी तथा युवापलायनका विषयलाई गम्भीरतापूर्वक लिएको बताए ।
‘जनकपुरधाम उपमहानगरपालिकाभित्रै आधारभूत सेवामा अझै असमानता छ । जनताको करबाट सञ्चालित निकायले पारदर्शिता र जवाफदेहिता देखाउनुपर्छ,’ उनले भने, ‘हामीले सुशासन, पारदर्शिता र परिणाममुखी कामलाई प्राथमिकता दिनेछौँ ।’
उनले विशेष गरी युवाहरुलाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘राजनीति रोजगारीको माध्यम नभई सेवाको माध्यम हो । जबसम्म प्रणाली सुधार हुँदैन तबसम्म विकासको गति तीव्र हुन सक्दैन,’ झाले भने ।
स्थानीय बासिन्दासँगको अन्तरक्रियामा उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिक एजेण्डामा राखेको बताए । सामुदायिक विद्यालयको गुणस्तर सुधार, सीपमूलक तालिम विस्तार तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न आफूले संसद्मा आवाज उठाउने उनको प्रतिबद्धता छ ।
भेटघाटका क्रममा केही स्थानीयले विगतमा निर्वाचित प्रतिनिधिहरुले गरेका प्रतिबद्धता पूरा नभएको गुनासो गरे । त्यसप्रति प्रतिक्रिया दिँदै झाले भने, ‘जनताले अब भाषण नभई कामको नतिजा हेर्न चाहेका छन् । त्यसैले हामीले वाचा भन्दा बढी काम गरेर देखाउने योजना बनाएका छौँ ।’
घरदैलो अभियान आगामी दिनमा पनि धनुषा–३ का विभिन्न वडामा निरन्तर सञ्चालन गरिने रास्वपाले जनाएको छ ।
धनुषा क्षेत्र नम्बर–३ मा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक मानिएको छ ।
मतदाताको मत आकर्षित गर्न विभिन्न दलका उम्मेदवारहरु सक्रिय रुपमा घरदैलो तथा भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेका छन् ।
रास्वपाका उम्मेदवार मनिष झाले भने जनताको प्रत्यक्ष सरोकारका विषयलाई केन्द्रमा राख्दै आफ्नो अभियानलाई अघि बढाउने बताएका छन् ।








तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


