काठमाडौँ, १ फागुन । काठमाडौँ महानगरपालिका–४ मण्डिखाटारस्थित व्यवसायी सम्भव सिरोहियाको घरमा तोडफोड, आगजनी तथा लुटपाट गरेको आरोपमा पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रहरी अनुसन्धान र पीडितले दिएको जाहेरीका आधारमा काठमाडौँका सुजन डंगोल (३५), विवेक थापा (३५), धादिङका गोपाल थापा (३३), गोरखाका रोजिस घिमिरे (२५) र धनकुटाको महालक्ष्मी नगरपालिका–३ का प्रज्वल रोगुविरुद्ध ‘आपराधिक उपद्रव तथा चोरी’ सम्बन्धी कसुरमा अभियोग दर्ता गरेको हो ।

गत भदौ २४ गते ‘जेन्जी आन्दोलन’को नाममा भएको प्रदर्शनका क्रममा दिउँसो करिब १ बजेदेखि राति १० बजेसम्मको समयमा एक समूहले सिरोहियाको निवासमा प्रवेश गरी तोडफोड र आगजनी गरेको आरोप छ ।

भीडले घरभित्र पार्क गरिएका विलासी सवारीसाधनमा आगजनी गर्दा चार वटा कार पूर्ण रूपमा जलेर नष्ट भएका थिए ।

अभियोगपत्रअनुसार घटनाबाट करिब १४ करोड ६४ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ ।

घरबाट ३५ तोला सुन, २० थान चाँदीका गरगहना तथा ३१ केजी चाँदीका सिक्का लुटिएको दाबी गरिएको छ । त्यस्तै, सोफा सेट, डाइनिङ टेबल, ल्यापटप, क्यामेरा लगायतका बहुमूल्य सामग्रीसमेत लुटपाट भएको जनाइएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा अभियुक्तहरूको डेरा खानतलासी गर्दा ठूलो परिमाणमा चाँदीका सिक्का र अन्य सामग्री बरामद गरेको जनाएको छ ।

बरामद सिक्कामध्ये ‘कान्तिपुर’ लेखिएका सिक्का, विभिन्न ऐतिहासिक छाप भएका सिक्का, क्यामेरा तथा धातुका गरगहनाहरू रहेका छन् ।

करिब १८ किलो चाँदीका सिक्का बरामद भएको र बाँकी सामग्री अभियुक्तहरूले आ–आफ्नो कोठामा लुकाएर राखेको अभियोगपत्रमा उल्लेख छ ।

रोजिस घिमिरेले लुटिएको चाँदी भएको थाहा हुँदाहुँदै केही सिक्का खरिद गरी पगालेर सिक्री बनाएको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । उनको पसलबाट समेत केही सिक्का बरामद गरिएको छ ।

सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता २०७४ को दफा २८५ अन्तर्गत आपराधिक उपद्रव र दफा २४१ अन्तर्गत चोरीको कसुरमा चार जनाविरुद्ध कारबाहीको माग गरेको छ ।

आगजनीसहितको आपराधिक उपद्रवमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना तथा चोरी कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना माग गरिएको छ ।

चोरीको सामान किनबेच वा लुकाउने कसुरमा रोजिस घिमिरेविरुद्ध दफा २४६ (क) बमोजिम तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको माग दाबी गरिएको छ ।

घटनाबारे थप सुनुवाइ प्रक्रिया अदालतमा अघि बढ्ने बताइएको छ ।