अख्तियार बर्दिवासमा ६ महिनामा २ हजार ५२५ उजुरी, धनुषा अग्रस्थानमा

महोत्तरी, १ फागुन । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयमा भ्रष्टाचारसम्बन्धी २ हजार ५२५ उजुरी दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी उजुरी धनुषा जिल्लाबाट परेका छन् ।
कार्यालयका अनुसार धनुषाबाट मात्रै ७८० उजुरी दर्ता भएका छन् । त्यसपछि महोत्तरीका ५१४, सिरहाका ४८१, सर्लाहीका ३९७ र सबैभन्दा कम सोलुखुम्बूका ३९ उजुरी दर्ता भएका छन् । प्रदेश राजधानीसमेत रहेको धनुषामा १८ वटा स्थानीय तह रहेका छन् ।
कार्यालयका उपसचिव प्रकाश पोखरेलका अनुसार दर्ता भएका उजुरीमध्ये ८१२ वटा फछ्र्यौट भइसकेका छन् भने १ हजार ७१३ उजुरी छानबिनको क्रममा रहेका छन् । ‘कुल उजुरीमध्ये ७२ दशमलव ६१ प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन्,’ उनले भने ।
६ महिनाको अवधिमा ६०५ उजुरी तामेली गरिएको, १० वटा सुझावसहित तामेली गरिएको र ७९ उजुरीमा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको कार्यालयले जनाएको छ । यसैगरी ११८ उजुरी एकीकरण गरिएको उपसचिव पोखरेलले बताए । आयोगमा दर्ता भएका उजुरीहरूको ‘स्क्रिनिङ’ गरी प्रारम्भिक तथा विस्तृत छानबिनपछि तामेली गर्ने, कारबाहीका लागि सिफारिस गर्ने वा अदालतमा अभियोजन गर्ने प्रक्रिया अपनाइने गरेको उनले स्पष्ट पारे ।
बर्दिवास कार्यालयको कार्यक्षेत्रमा मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाही, कोशी प्रदेशका ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बू तथा बागमती प्रदेशका सिन्धुली र रामेछाप जिल्ला पर्दछन् । मधेशका रौतहट, बारा र पर्सा हेटौँडा कार्यालयअन्तर्गत तथा सप्तरी इटहरी कार्यालयको क्षेत्राधिकारमा पर्ने गरेको छ ।
कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले भ्रष्टाचार नियन्त्रणका लागि आयोग सदाचार, निष्पक्षता र निर्भीकताका साथ काम गर्न प्रतिबद्ध रहेको बताए । उनले नागरिकलाई तथ्य र प्रमाणसहित उजुरी दिन आग्रह गर्दै पारदर्शिता र सुशासन प्रवर्द्धनमा सबैको साथ आवश्यक रहेको उल्लेख गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


