जनकपुरधाम, २९ माघ । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित गुनासा तथा उजुरीको प्रभावकारी सम्बोधनका लागि संघीय र प्रदेश सरकार सक्रिय देखिएका छन् ।

जनकपुरधाममा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाबीच स्वास्थ्य सेवासम्बन्धी गुनासा, समाधान प्रक्रिया र चुनौतीबारे विस्तृत छलफल गरिएको हो ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा सम्पन्न कार्यक्रममा ‘हेलो सरकार’ र ‘हेलो हेल्थ’ मार्फत प्राप्त उजुरीहरूको अवस्थाबारे जानकारी गराइएको थियो ।

मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीका अनुसार ‘हेलो हेल्थ’ सेवामार्फत हालसम्म ५ सय ४९ वटा उजुरी प्राप्त भएका छन् । त्यसमध्ये अधिकांशको सुनुवाइ भइसकेको छ । सेवाग्राहीले १११५ मा फोन गरेर स्वास्थ्यसम्बन्धी गुनासा दर्ता गर्न सक्ने व्यवस्था रहेको उनले जानकारी दिए ।

यस्तै, प्रधानमन्त्री कार्यालयअन्तर्गत सञ्चालित २४ घण्टे ‘हेलो सरकार’ मार्फत प्राप्त उजुरीमध्ये स्वास्थ्य क्षेत्रसँग सम्बन्धित १ हजार ६ सय ७३ वटा उजुरी मन्त्रालयमा पठाइएको र तीमध्ये १ हजार ५७ वटाको सुनुवाइ भइसकेको सुशासन इकाईका अधिकृत राममणि कोइरालाले बताए । उनका अनुसार हेलो सरकारमा फोन, इमेल तथा सामाजिक सञ्जालमार्फत गुनासा दर्ता गर्न सकिन्छ ।

कार्यक्रममा पछिल्लो समय स्वास्थ्यसम्बन्धी गुनासा सम्बोधन गर्न प्रधानमन्त्री कार्यालयबाट पत्राचार तथा टेलिफोनमार्फत ताकेता आउने क्रम बढेको जानकारी दिइयो ।

विशेषगरी शहरी क्षेत्रका ठूला स्वास्थ्य संस्थासँग सम्बन्धित सेवा प्रवाह, व्यवस्थापन र पहुँचका विषयमा बढी उजुरी आउने गरेको जनाइएको छ ।

अन्तरक्रियामा बोल्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादवले सीमित साधन स्रोत र जनशक्तिका कारण केही गुनासा आउनु स्वाभाविक भए पनि समाधान प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए ।

उनले मधेश प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिँदै त्यसमध्ये १ अर्ब रुपैयाँ क्यान्सर, हृदय तथा मिर्गौला रोगीको उपचार सहयोगमा खर्च भइरहेको बताए ।

चालु आर्थिक वर्षमा थप ५० करोड रुपैयाँ निकासा गर्न अर्थ मन्त्रालयसँग माग गरिएको पनि उनले स्पष्ट पारे ।

मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले सेवा सुधार, पारदर्शिता र जवाफदेहितामा जोड दिएका थिए ।

कार्यक्रममा स्वास्थ्य सेवाको गुणस्तर सुधार्न गुनासो व्यवस्थापन प्रणालीलाई अझ सुदृढ बनाउनुपर्नेमा सरोकारवालाहरूले एकमत व्यक्त गरे ।