जनकपुरधाम, २९ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा जनता समाजवादी पार्टी (जसपा) ले घरदैलो अभियानलाई तीव्र बनाएको छ ।

यस क्षेत्रलाई राजनीतिक रूपमा प्रतिस्पर्धात्मक मानिँदै आए पनि जसपाले आफ्नो पक्षमा माहोल बन्दै गएको दाबी गरेको छ ।

जसपाका उम्मेदवार परमेश्वर साह यतिबेला गाउँगाउँ र टोलटोल पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । घरदैलो कार्यक्रमका क्रममा उनले स्थानीयका समस्या सुन्दै समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।

जसपा जनकपुरधामका नगर सचिव प्रशान्त झाले धनुषा–३ मा पार्टीको जित सुनिश्चित रहेको दाबी गरे । उनले भने, ‘जनताको उत्साह र समर्थन हेर्दा यस पटक धनुषा–३ मा छाता चुनाव चिन्हले जित हासिल गर्नेछ । मन में छाता, मत में छाता भन्ने नारासहित हामी जनताको घरदैलोमा पुगेका छौं ।’

विकास, रोजगारी र सुशासन मुख्य एजेण्डा
उम्मेदवार साहले आफ्नो चुनावी एजेण्डा स्पष्ट पार्दै क्षेत्रको समग्र विकास, युवाका लागि रोजगारी सिर्जना र सुशासनलाई प्राथमिकतामा राखेका छन् ।

उनले भने, ‘धनुषा–३ मा सडक, शिक्षा, स्वास्थ्य र सिंचाइको समस्या अझै जटिल छ । मेरो पहिलो प्रतिबद्धता आधारभूत पूर्वाधार सुदृढीकरण हो । स्थानीय तहसँग समन्वय गरी सडक विस्तार, गुणस्तरीय विद्यालय र स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने योजना बनाएका छौं ।’

साहले युवाहरू वैदेशिक रोजगारीमा पलायन हुन बाध्य भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उद्योग व्यवसाय प्रवर्द्धन र सीपमूलक तालिममार्फत रोजगारीका अवसर सिर्जना गर्ने बताए ।

‘युवालाई यहीँ रोजगारी दिने वातावरण बनाउनु हाम्रो लक्ष्य हो । साना तथा मझौला उद्योगलाई प्रोत्साहन, कृषि उत्पादनमा आधुनिकीकरण र बजार सुनिश्चितता हाम्रो कार्यक्रमभित्र पर्छ,’ उनले भने ।

किसान र विपन्न समुदायमा विशेष ध्यान
कृषिप्रधान क्षेत्र भएकाले किसानको समस्या समाधानलाई प्राथमिकतामा राखिएको साहले उल्लेख गरे । उनले मल, बीउ, सिंचाइ र बजार व्यवस्थापनलाई व्यवस्थित गर्न संघीय स्तरबाट पहल गर्ने प्रतिबद्धता जनाए ।

‘किसानलाई उत्पादनको लागतअनुसार मूल्य सुनिश्चित गरिनुपर्छ । कृषिमा आधुनिकीकरण र सहकारीमार्फत सशक्तीकरण आवश्यक छ,’ उनले थपे ।

साहले दलित, पिछडिएको वर्ग, महिला र विपन्न समुदायको अधिकार सुनिश्चित गर्न विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए । ‘समावेशी र समानतामूलक समाज निर्माण जसपाको मूल एजेण्डा हो । राज्यका हरेक तहमा समान सहभागिता र अवसर सुनिश्चित गरिनुपर्छ,’ उनको भनाइ थियो ।

प्रत्यक्ष संवादमार्फत मत माग्दै
घरदैलो अभियानका क्रममा जसपाका नेता कार्यकर्ताहरू मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको नीति, कार्यक्रम र उपलब्धि प्रस्तुत गरिरहेका छन् ।

स्थानीयस्तरमा देखिएका खानेपानी, ढल निकास, सडक स्तरोन्नति र बेरोजगारीजस्ता समस्याबारे जानकारी संकलन गरी प्राथमिकताका आधारमा समाधान गर्ने आश्वासन दिइएको छ ।

नगर सचिव झाका अनुसार क्षेत्रका अधिकांश वडामा अभियान सम्पन्न भइसकेको छ भने बाँकी स्थानमा पनि अभियान तीव्र गतिमा अघि बढिरहेको छ ।

धनुषा–३ मा बहुदलीय प्रतिस्पर्धा रहे पनि उम्मेदवारहरूको घरदैलो अभियान र स्थानीय मुद्दामा केन्द्रित एजेण्डाले चुनावी परिणाममा निर्णायक भूमिका खेल्ने देखिन्छ ।

यसैबीच, जसपाले मतदातालाई छाता चुनाव चिन्हमा मतदान गरी समावेशी विकास र पहिचानको राजनीतिलाई सशक्त बनाउन आग्रह गरेको छ ।

उम्मेदवार साहले भने, ‘यो निर्वाचन प्रतिनिधि छनोट गर्ने प्रक्रिया मात्र नभई धनुषा–३ को भविष्य तय गर्ने अवसर पनि हो । जनताको विश्वासलाई सदैव सम्मान गर्दै इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’