मटिहानीमा ट्याक्टरको रोटाबेटरमा परी दुई बालिकाको मृत्यु

महोत्तरी, २९ माघ । महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरामा ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो खेत जोत्ने क्रममा भएको दुर्घटनामा ७ र ८ वर्षीया बालिकाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार मटिहानी–४ निवासी गरिब आलमको ज १ त ९७८२ नम्बरको ट्याक्टरले खेत जोतिरहेको थियो । सोही क्रममा स्थानीय ईमराईन राईनकी ७ वर्षीया छोरी फरहाना खातुन र सिरहा नगरपालिका–११ मरडा निवासी सम्तुला राईनकी ८ वर्षीया छोरी रफिया खातुन ट्याक्टरमा चढेका थिए ।
प्रहरीका अनुसार ट्याक्टरबाट खस्ने क्रममा दुवै बालिका पछाडि जडान गरिएको रोटाभेटरमा परेका थिए । त्यसकारण उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन् । ट्याक्टरका धनी मटिहानी–४ का ४२ वर्षीय फुल महम्मद रहेको प्रहरीले जनाएको छ ।
फरार चालकको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।
मृतक बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


