रौतहटमा अवैध काठ बरामद, तस्कर फरार

रौतहट, २९ माघ । रौतहटको जंगलसहिया क्षेत्रमा अवैध साल काठ तस्करी भइरहेको सूचनापछि खटिएको संयुक्त गस्ती टोलीले एकथान टाटा सुमो गाडी र एकथान मोटरसाइकलसहित सालको गोलिया काठ बरामद गरेको छ ।
जंगलसहिया सबडिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबार राति करिब ९ः३० बजे नियमित गस्तीका क्रममा उक्त सामग्री बरामद गरेको हो ।
जंगलसहिया साझेदारी वनअन्तर्गत बागमती नहर नजिक शंकास्पद गतिविधि देखिएपछि टोलीले जाँच गर्दा भारतीय नम्बर प्लेटको सुमो गाडीमा लोड गरिएको दुई थान सालको गोलिया काठ फेला परेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
टोलीका अनुसार ना ६७ प १०५१ नम्बरको मोटरसाइकलसमेत घटनास्थलबाट नियन्त्रणमा लिइएको छ। जंगलसहिया सबडिभिजन वन कार्यालयका प्रमुख विनोद जेठाराको नेतृत्वमा खटिएको टोली घटनास्थलमा पुग्नासाथ काठ तस्करीमा संलग्न व्यक्तिहरू सवारीसाधन छाडेर फरार भएका थिए ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त कुमार साहका अनुसार बरामद गरिएको काठ तथा सवारीसाधन कार्यालयको नियन्त्रणमा राखिएको छ ।
काठको नापजाँच तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा वन क्षेत्रमा काठ तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाभर सशस्त्र प्रहरीसहितको संयुक्त गस्ती कडाइ गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


