जनकपुरधाम, २९ माघ । धनुषा निर्वाचन क्षेत्र नम्बर–४ बाट जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. कृष्णचन्द्र प्रसाद साहले महिला उद्यमशीलता र सशक्तिकरणलाई प्राथमिकतामा राखेर विशेष पहल आवश्यक रहेको बताएका छन् ।

जनकपुरधाममा आयोजित महिला उद्यमी सहयोग तथा सशक्तिकरणसम्बन्धी कार्यक्रममा बोल्दै उनले आर्थिक रूपले आत्मनिर्भर महिला नै समृद्ध समाजको आधार हुने उल्लेख गरे ।

‘महिलालाई सीप, पूँजी र बजारसँग जोड्न सके मात्रै वास्तविक सशक्तिकरण सम्भव हुन्छ,’ उनले भने, ‘राज्यले नीति निर्माणदेखि कार्यान्वयनसम्म महिलामैत्री वातावरण सिर्जना गर्नुपर्छ ।’

डा. साहले विशेषगरी मधेश प्रदेशका महिलाहरू परम्परागत सीप र घरेलु उद्योगमा संलग्न भए पनि पर्याप्त प्राविधिक सहयोग, वित्तीय पहुँच र बजार व्यवस्थापनको अभावका कारण उनीहरूको उत्पादनले उचित मूल्य नपाइरहेको बताए ।

उनले साना तथा मझौला महिला उद्यमीलाई सहुलियत ऋण, तालिम तथा ब्रान्डिङ र बजार विस्तारमा सहयोग गर्नुपर्ने धारणा राखे ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा महिला लक्षित उद्यम प्रवर्द्धन कार्यक्रम, सहकारीमार्फत पूँजी पहुँच विस्तार र स्थानीय उत्पादनको बजारीकरणका लागि समन्वयात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘महिलालाई रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने वातावरण बनाउनु मेरो लक्ष्य हो,’ उनले भने ।

कार्यक्रममा सहभागी महिला उद्यमीहरूले पनि सीप विकास तालिम, आधुनिक प्रविधि तथा स्थायी बजार व्यवस्थापनको आवश्यकता औँल्याएका थिए ।

डा. साहले महिलाको आर्थिक सहभागिता बढे मात्रै सामाजिक न्याय र समावेशी विकास सम्भव हुने उल्लेख गर्दै महिला सशक्तिकरणलाई आफ्नो चुनावी एजेण्डाको मुख्य आधार बनाएको स्पष्ट पारे ।