मधेश सरकारद्वारा लक्षित छात्रवृत्ति कार्यक्रम सार्वजनिक

जनकपुरधाम, २९ माघ । मधेश प्रदेश सरकार अन्तर्गत शिक्षा तथा संस्कृति मन्त्रालयको शिक्षा विकास निर्देशनालयले दलित, विपन्न, मुस्लिम तथा जेहेन्दार छात्राहरूका लागि उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत उक्त चार समूहका छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्न ३० दिने सार्वजनिक सूचना जारी गरिएको हो ।
निर्देशनालयका अनुसार मधेश प्रदेशभित्र स्थायी बसोबास रहेका र स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत छात्राहरूले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र अर्थात् २०८२ फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
विद्यार्थी स्वयं वा अभिभावकमार्फत निर्देशनालयमा तोकिएको ढाँचामा आवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । आवेदन फाराम निर्देशनालयको वेबसाइटबाट डाउनलोड गर्न सकिने जनाइएको छ ।
यस्ता छन् मापदण्ड
छात्रवृत्ति प्राप्त गर्न जेहेन्दार छात्राको हकमा कम्तीमा २.८ CGPA/GPA वा प्रथम श्रेणी अनिवार्य गरिएको छ भने दलित, विपन्न र मुस्लिम समूहका छात्राहरूका लागि न्यूनतम १.६ CGPA/GPA आवश्यक पर्नेछ ।
आवेदक छात्रा मधेश प्रदेशमा जन्मिएकी हुनुपर्ने र सामुदायिक माध्यमिक विद्यालयबाट कक्षा १२ वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी सामुदायिक वा सरकारी क्याम्पस/विश्वविद्यालयमा स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत हुनुपर्ने शर्त राखिएको छ ।
त्यसैगरी, अध्ययन गरेको विद्यालय सामुदायिक भएको प्रमाण स्थानीय तहको शिक्षा शाखा वा शिक्षा विकास तथा समन्वय इकाइबाट प्रमाणित गराएको पत्र आवश्यक पर्नेछ ।
दलित र मुस्लिम छात्राका लागि सम्बन्धित आयोग वा जिल्ला प्रशासन कार्यालयको सिफारिस र विपन्न समूहका लागि सम्बन्धित पालिका वा वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ ।
छात्रवृत्ति रकम छात्राको नाममा रहेको बैंक खातामा जम्मा गरिने भएकाले आफ्नै नाममा बैंक खाता खोलिएको तथा अद्यावधिक चेकको प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था छ ।
कति पाइनेछ छात्रवृत्ति?
निर्देशनालयका अनुसार साधारण धारतर्फ अध्ययनरत छात्राले वार्षिक २५ हजार रुपैयाँ र प्राविधिक धारतर्फ अध्ययनरत छात्राले वार्षिक ३५ हजार रुपैयाँ छात्रवृत्ति पाउनेछन् ।
शिक्षा विकास निर्देशनालयले प्रदेशका सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आवेदन फाराम संकलन तथा समन्वयमा सहयोग गर्न अनुरोध गरेको छ ।
निमित्त निर्देशक महेन्द्र महतोद्वारा जारी सूचनामा लक्षित समुदायका छात्राहरूलाई समयमै आवेदन दिन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


