फागुन ३ भित्र निर्वाचन घोषणापत्र बुझाउन आयोगको निर्देशन

जनकपुरधाम, २९ माघ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र आफ्नो निर्वाचन घोषणापत्र सार्वजनिक गरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ ।
आयोगको माघ २७ गतेको निर्णयअनुसार जारी पत्रमा निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम उम्मेदवारहरूले समयसीमाभित्र घोषणापत्र सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ ।
घोषणापत्रको एक प्रति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्न पनि आग्रह गरिएको छ ।
दल व्यवस्थापन महाशाखामार्फत जारी सूचनामा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूलाई समेत जानकारी गराउँदै प्राप्त घोषणापत्रको अभिलेख राखी विवरण आयोगमा पठाउन भनिएको छ ।
आयोगले ‘स्वतन्त्र र निष्पक्ष निर्वाचन: राष्ट्रको गौरव’ भन्ने नारासहित पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न उम्मेदवारहरूलाई समयमै प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।
आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


