अब महोत्तरी–२ लाई उज्यालो बनाउने समय आएको छ: राकेश मण्डल

महोत्तरी, २८ माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीका तर्फबाट महोत्तरी निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार सर्जन राकेश मण्डल पछिल्ला दिनहरूमा घरदैलो अभियानलाई तीव्र बनाउँदै जनतासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन् ।
गाउँगाउँ, टोलटोल र बस्ती बस्ती पुग्दै स्थानीयवासीसँग भेटघाट गर्ने क्रममा मण्डलले जनताका समस्या, गुनासा र अपेक्षा सुन्दै आफ्नो चुनावी अभियानलाई व्यवहारिक र जनमुखी बनाउने प्रयास गरिरहेका छन् ।
बिहानैदेखि साँझसम्म मतदाताको घरआँगनमा पुगेर संवाद गर्ने उनको शैलीले स्थानीयस्तरमा नयाँ आशा र विश्वासको वातावरण सिर्जना गरेको छ ।
घरदैलो अभियानका क्रममा मण्डलले विशेषगरी शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, खानेपानी र रोजगारीको अभावबारे जनताबाट व्यापक गुनासा सुन्दै आएका छन् ।
धेरै गाउँमा अझै पक्की सडक, स्वास्थ्य चौकी र गुणस्तरीय विद्यालयको कमी रहेको भन्दै स्थानीयवासीले तत्काल समाधानको माग गरेका छन् ।
स्थानीय एक वृद्ध किसान रामदेव मण्डल भन्छन्, ‘हामीले धेरै नेतालाई भोट दियौं । तर, समस्या उस्तै छ । राकेशजी चाहिँ आफैं घरमा आएर सुन्नुभएको छ । यही ठूलो कुरा हो ।’
यस्ता गुनासा सुन्दै मण्डलले दीर्घकालीन योजना बनाएर विकासका काम अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
‘जनताको समस्या नबुझी संसदमा पुग्नुको कुनै अर्थ छैन । म यहाँका हरेक पीडा बोकेर काठमाडौँ जानेछु,’ उनले भने ।
घरदैलो भेटघाटमा युवासँगको संवादलाई मण्डलले विशेष प्राथमिकता दिएका छन् । बेरोजगारीका कारण युवाहरू विदेशिन बाध्य भएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले स्थानीय तहमा रोजगारी सिर्जना गर्ने योजना अघि सारेका छन् ।
उनका अनुसार कृषि आधुनिकीकरण, साना उद्योग, सहकारी प्रणाली र सीपमूलक तालिममार्फत युवालाई आत्मनिर्भर बनाइनेछ ।
‘हाम्रो माटो उर्वर छ । हाम्रो युवा मेहनती छन् । सही नेतृत्व र नीति भए महोत्तरीमै रोजगारी सम्भव छ,’ उनले युवासँगको छलफलमा भने ।
मण्डलले घरदैलोका क्रममा महिला, दलित, पिछडावर्ग, किसान र श्रमिकसँग विशेष भेटघाट गर्दै उनीहरूको समस्या सुन्दै आएका छन् ।
सामाजिक न्याय र समान अवसरलाई आफ्नो प्रमुख एजेन्डा बनाएको उनको भनाइ छ ।
‘अन्तिम पंक्तिमा उभिएका नागरिक राज्यको मूलधारमा नआएसम्म समृद्धि सम्भव हुँदैन,’ उनले भने, ‘मेरो राजनीति कमजोर वर्गको आवाज बन्नेछ ।’
स्थानीय महिला मीना देवी साहले भनिन्, ‘हाम्रो पीडा सुन्ने नेता भेट्न गाह्रो थियो । मण्डलजीले हामीसँग समय दिएर कुरा गर्नुभयो, यसले भरोसा बढाएको छ ।’
राकेश मण्डलले विकाससँगै सुशासन, पारदर्शिता र जवाफदेहितालाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । घरदैलो अभियानका क्रममा उनले भ्रष्टाचार, ढिलासुस्ती र सत्ताको दुरुपयोगविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पारेका छन् ।
‘जनताको करको पैसा जनताकै सेवामा लाग्नुपर्छ । अब भ्रष्टाचारलाई सामान्य मान्ने संस्कार अन्त्य गर्नुपर्छ,’ उनले भने ।
उनका अनुसार योजना छनोटदेखि कार्यान्वयनसम्म नागरिकको प्रत्यक्ष निगरानी सुनिश्चित गरिनेछ ।
मण्डलले उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘बल्ब’लाई केन्द्रमा राख्दै जनचेतनामूलक अभियान सञ्चालन गरिरहेका छन् ।
‘घरघर बल्ब, सबतर बल, सबके बल’ भन्ने नारासहित उनले विकास, शिक्षा र चेतनाको उज्यालो फैलाउने प्रयास गरिरहेका छन् ।
घरदैलोका क्रममा उनी मतदातालाई भन्छन्, ‘बल्बमा मतदान गरेर उज्यालो भविष्य रोज्नुहोस् । यो चुनाव मात्र नभई परिवर्तनको अभियान हो ।’
महोत्तरी–२ मा मण्डलको सक्रिय घरदैलो अभियानसँगै स्थानीयस्तरमा उनको समर्थन क्रमशः बढ्दै गएको देखिन्छ । युवादेखि ज्येष्ठ नागरिकसम्म उनको सादगीपूर्ण व्यवहार र निरन्तर उपस्थितिले सकारात्मक प्रभाव पारेको छ ।
सुशासन, समृद्धि र सामाजिक न्यायको नारासहित अघि बढिरहेका मण्डलको निरन्तर जनसम्पर्क अभियानले महोत्तरी–२ को चुनावी माहोललाई थप रोचक बनाएको छ ।
प्रत्यक्ष संवाद, स्पष्ट एजेन्डा र व्यवहारिक प्रतिबद्धताका कारण उनी वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै गएका छन् ।
आगामी दिनमा पनि घरदैलो अभियानलाई अझ सशक्त बनाउँदै जनताको घरआँगनमै पुग्ने योजना रहेको मण्डलले बताए ।
‘महोत्तरी–२ लाई उज्यालो बनाउने सपना तपाईंहरूको साथ बिना सम्भव छैन । म सेवा गर्न आएको हुँ, शासन गर्न होइन,’ उनले भने ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


