सर्लाही, २८ माघ । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सागरनाथ वन विकास परियोजनाको जग्गामा कानून विपरीत बहुउद्देश्यीय माछा पोखरी निर्माण गर्ने क्रममा वन पैदावारको दुरुपयोग भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दामा मेयर थापासहित उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, लेखा अधिकृत विश्वराज पोखरेल र इन्जिनियर सागर पौडेललाई प्रतिवादी बनाइएको छ ।

यस्तै, सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे, निमित्त प्रमुख देवेशमणि त्रिपाठी, रामकिशोर यादव, प्रेमीलाल प्रसाद कलवार तथा सहायक वन अधिकृतहरू चन्द्रकुमारी श्रेष्ठ, शिवेन्द्रप्रसाद चौधरी, भोल यादव र कार्यालय प्रमुख जीतेन्द्र कर्माचार्यविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

अख्तियारले उनीहरूसँग जनही ५८ करोड ६२ लाख १४ हजार ६ सय ५८ रुपैयाँ बिगो मागदाबी गरेको छ ।

निलम्बित मेयर थापाविरुद्ध यसअघि पनि चारवटा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भइसकेका छन् । यो मुद्दासहित उनीविरुद्ध दायर मुद्दाको संख्या पाँच पुगेको छ ।

अख्तियारले सार्वजनिक सम्पत्तिको संरक्षण र कानुनी प्रक्रिया उल्लंघन गर्नेहरूमाथि कडाइका साथ कारबाही जारी राख्ने जनाएको छ ।