जनकपुरधाम, २८ माघ । मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले भ्रष्टाचार नियन्त्रणका लागि व्यक्तिको आचरण, नैतिकता र सदाचारमा सुधार आवश्यक रहेको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसको अवसरमा आयोगको बर्दिबासस्थित कार्यालयद्वारा जनकपुरधाममा आयोजित विशेष समारोहमा बोल्दै उनले सुशासन र समृद्धिको आधार नै भ्रष्टाचार नियन्त्रण रहेको उल्लेख गरेका हुन् ।

आयोगले अख्तियारको दुरुपयोग रोक्न खेलेको भूमिकाको सराहना गर्दै उनले यसलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले सुशासनमार्फत विकास र समृद्धि हासिल गर्न चाहेको बताए । तर, स-साना विषयमा आयोगबाट आउने पत्राचारका कारण कर्मचारीमा डर उत्पन्न भई काम प्रभावित हुने गरेको गुनासो गरे ।

सभामुख रामआशिष यादवले अख्तियारप्रतिको जनविश्वास बढ्यो वा घट्यो भन्ने विषयको नियमित मूल्याङ्कन गरेर त्यसअनुसार नीति निर्माण गर्नुपर्ने सुझाव दिए ।

उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश टेक नारायण कुँवरले शिक्षा, स्वास्थ्य र स्थानीय तहसम्बन्धी मुद्दा विशेष अदालतमा धेरै पुग्ने गरेको उल्लेख गर्दै यसमा सुधार आवश्यक रहेको बताए ।

त्यसैगरी, प्रमुख सचिव कमल प्रसाद भट्टराईले सुशासन प्रवर्द्धनका लागि कर्मचारी व्यवस्थापन, सेवा प्रवाह र सार्वजनिक खरिद प्रक्रियामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल तथा अख्तियार बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुवाङ्गलगायतले पनि आफ्ना धारणा राखे ।

सो अवसरमा प्रदेश प्रमुख डा. कर्णले अख्तियारको बर्दिबास कार्यालयमा कार्यरत नायब सुब्बा सुरेश कुमार बराल, शाखा अधिकृत अरुण कुमार बराल र प्रहरी निरीक्षक सञ्जीव सुवाललाई ‘अख्तियार सेवा पुरस्कार’ प्रदान गरे ।

अख्तियार बर्दिबास कार्यालयका अनुसार गत वर्ष दर्ता भएका २ हजार ५ सय २५ उजुरीमध्ये हालसम्म १ हजार ७ सय १३ उजुरी फर्छ्यौट हुन बाँकी रहेका छन् ।