जनकपुरधाम, २८ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा संगठन विस्तार तीव्र बनेको छ ।

यसै क्रममा कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई समर्थन गर्दै ६० भन्दा बढी जेनजी युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बुधबार आयोजित एक कार्यक्रममा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र समूहबाट आएका युवाहरुले कांग्रेसको नीति, सिद्धान्त र विकासप्रतिको प्रतिबद्धताबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताएका छन् ।

उनीहरुले आगामी निर्वाचनमा विमलेन्द्र निधिको जित सुनिश्चित गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा बोल्दै उम्मेदवार निधिले युवाहरुको सहभागिताले पार्टी थप सशक्त बनेको उल्लेख गर्दै युवाशक्ति नै देश परिवर्तनको मुख्य आधार भएको बताए ।

उनले शिक्षा, रोजगारी, उद्यमशीलता र प्रविधिमा आधारित कार्यक्रममार्फत युवाको भविष्य सुरक्षित बनाउने प्रतिवद्धता व्यक्त गरे ।

स्थानीय नेताहरुले पछिल्लो समय युवाहरुको बढ्दो आकर्षणले धनुषा–३ मा कांग्रेसको पक्षमा सकारात्मक माहोल बनेको दाबी गरेका छन् ।

उनीहरुका अनुसार जेनजी युवाको सक्रियताले चुनावी अभियानलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

पार्टी प्रवेश गर्ने युवाहरुले सुशासन, विकास र रोजगारीका विषयलाई प्राथमिकता दिने नेताको रुपमा विमलेन्द्र निधिलाई समर्थन गरेको बताएका छन् ।

आगामी दिनमा घरदैलो अभियान, सामाजिक सञ्जाल र विभिन्न कार्यक्रममार्फत कांग्रेसको पक्षमा जनमत सृजना गर्ने उनीहरुको योजना रहेको छ ।