रामुपाका केन्द्रीय उपाध्यक्ष राजिव झा रास्वपामा प्रवेश, मनिष झालाई समर्थन

जनकपुरधाम, २८ माघ । राष्ट्रिय मुक्ति पार्टी (रामुपा) का केन्द्रीय उपाध्यक्ष तथा धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार राजिव झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
बुधबार आयोजित कार्यक्रममा रास्वपामा प्रवेश गर्दै उनले सोही क्षेत्रका रास्वपाका उम्मेदवार मनिष झालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
राजेन्द्र महतो नेतृत्वको रामुपाबाट ‘जाँतो’ चुनाव चिह्न लिएर उम्मेदवारी दिएका झाले अब ‘घण्टी’ चुनाव चिह्नका उम्मेदवार मनिष झाको पक्षमा चुनावी अभियानमा सक्रिय रहने बताएका छन् ।
उनले मुलुकमा नयाँ राजनीतिक विकल्प आवश्यक रहेको उल्लेख गर्दै रास्वपाको एजेन्डा र नेतृत्वप्रति विश्वास व्यक्त गरे ।
केही दिनअघि मात्र रामुपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य सञ्जय सिंह, केन्द्रीय सचिव सञ्जय चौधरीसहित धनुषाका अधिकांश नेताहरूले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका थिए ।
लगातार नेताहरू पार्टी छोड्दै गएपछि रामुपा धनुषामा कमजोर बन्दै गएको देखिएको छ ।
रास्वपाले पछिल्लो समय मधेश क्षेत्रमा संगठन विस्तारलाई तीव्र बनाएको छ भने स्थानीय तहमा जनसमर्थन बढ्दै गएको दाबी गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


