बसहिया र सोनापाडामा निधिको चुनावी सभा, विकासका लागि कांग्रेसलाई जिताउन अपिल

जनकपुरधाम, २८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका नेता तथा धनुषा क्षेत्र नम्बर–३ का उम्मेदवार विमलेन्द्र निधिले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् ।
यसक्रममा जनकपुरधाम उपमहानगरपालिका–२४ अन्तर्गत पर्ने बसहिया र सोनापाडामा बुधबार आयोजित वडा भेला तथा चुनावी सभामा उनले विकास, रोजगारी र समृद्धिलाई प्राथमिकतामा राख्दै कांग्रेसलाई जिताउन आग्रह गरेका छन् ।
बसहियामा आयोजित सभालाई सम्बोधन गर्दै नेता निधिले आफू सधैं यस क्षेत्रका जनतासँग जोडिएर काम गर्दै आएको उल्लेख गरे । उनले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको विकासलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, सोनापाडामा आयोजित कार्यक्रममा बोल्दै निधिले मधेशको पहिचान, अधिकार र समग्र विकासका लागि नेपाली कांग्रेस नै भरोसायोग्य शक्ति भएको दाबी गरे ।
जनकपुरधामको धार्मिक तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र युवाहरूका लागि रोजगारी सिर्जना गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए ।
दुवै स्थानमा आयोजित सभामा स्थानीय नेता कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले ‘रुख छापमा मतदान, विमलेन्द्र निधि हाम्रो शान’ जस्ता नारासहित उम्मेदवार निधिलाई स्वागत गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा उम्मेदवार, स्थानीय नेताहरू तथा वडा अध्यक्षहरूले पनि सम्बोधन गर्दै यस निर्वाचनमा धनुषा–३ मा कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरे ।
नेता निधिले मतदातालाई भ्रममा नपरी विकास र समृद्धिको यात्रामा साथ दिन रुख चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन अपिल गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


