जनकपुरधाम, २८ माघ । जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरियास्थित सडक छेउमा एक युवतीको शव फेला परेको छ ।

स्थानीय बासिन्दाले बुधबार बिहान सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । मृतकको पहिचान खुल्ने प्रक्रिया जारी रहेको र घटनालाई शंकास्पद रूपमा हेरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमले भने, ‘घटनास्थलको प्रकृति हेर्दा मृत्यु स्वभाविक जस्तो देखिँदैन । हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाइएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यकिन विवरण सार्वजनिक गर्न सकिन्छ ।’

प्रहरीका अनुसार घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । संलग्न हुनसक्ने व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ ।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ । प्रहरीले घटनाबारे सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।