पर्सा, २७ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको आदर्शनगरस्थित अवैध गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सोमबार भन्सार छली गरी सामान भित्र्याइएको आशङ्कामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडामा छापा मारेको थियो ।

छापाका क्रममा स्थानीय व्यापारीहरूको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए भने सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा क्षति पुगेको थियो ।

पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार आक्रमणमा संलग्न चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको हो ।

उनले भने, ‘सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूको सिसीटिभी फुटेजको आधारमा पहिचान गरी पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ, संलग्नहरूको नाम अनुसन्धानको क्रममा रहेकाले पछि सार्वजनिक गरिनेछ ।’

प्रहरीका अनुसार सो गोदामबाट करिब १२ लाख ५० हजार रुपैयाँ बराबरका कपडाका सामान बरामद गरिएको छ । बरामद सामान र पक्राउ परेकामाथि भन्सार छली तथा सरकारी काममा बाधा पुर्याएको कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने अवैध कारोबारविरुद्ध अभियानलाई निरन्तरता दिइने प्रहरीले स्पष्ट पारेको छ ।