बालेन आज मधेश दौडाहामा : सप्तरीदेखि महोत्तरीसम्म ‘घण्टी अभिवादन’ र जनसम्पर्क कार्यक्रम

जनकपुरधाम, २७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले आज मंगलबार मधेश प्रदेशका विभिन्न जिल्लामा जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
पार्टीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बालेनले एकै दिन सप्तरी, सिरहा, धनुषा र महोत्तरीका विभिन्न स्थानमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।
कार्यक्रमको पहिलो चरण बिहान ८ः३० बजे सप्तरी जिल्लाबाट सुरु भएको छ । सप्तकोशी नगरपालिका हुँदै कञ्चनरुप, हनुमाननगर, राजविराज, डाक्नेश्वरी नगरपालिका र बोदेबरसाइन क्षेत्रमा ‘घण्टी अभिवादन’ कार्यक्रम सञ्चालन गरिनेछ । यस क्रममा बालेनले स्थानीय बासिन्दासँग संवाद गर्दै पार्टीको धारणा प्रस्तुत गर्नेछन् ।
त्यसपछि सिरहा जिल्लाको भगवानपुर र नवराजपुर हुँदै सुखिपुर क्षेत्र पुगेर दिउँसो सिरहा बजार तथा आसपासका स्थानमा जनसम्पर्क कार्यक्रम आयोजना गरिने पार्टीले जनाएको छ ।
तेस्रो चरणमा धनुषा र सिरहा जोड्ने कमला पुलमा दिउँसो १ः३५ बजे होल्ड कार्यक्रम राखिएको छ । सोही स्थानबाट तिनकोरिया प्रस्थान गरी यदुकूहा हुँदै धनुषा जिल्लाको नगराइनसम्म पुग्ने कार्यक्रम रहेको छ ।
चौथो तथा अन्तिम चरणमा महोत्तरी जिल्लाका जलेश्वर, एकडारा, बलवा र बर्दिवास क्षेत्रमा बालेनको जनसम्पर्क कार्यक्रम सञ्चालन हुने बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अनुसार यस कार्यक्रमको मुख्य उद्देश्य पार्टीको नीति, विचार र ‘घण्टी’ चुनाव चिह्नबारे आम नागरिकलाई जानकारी गराउनुका साथै स्थानीय समस्या, अपेक्षा र सुझाव प्रत्यक्ष रूपमा संकलन गर्नु हो । पार्टीले यस अभियानले जनतासँगको सम्बन्ध थप सुदृढ बनाउने विश्वास लिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


