धनुषामा ४५२७ निर्वाचन प्रहरीलाई ट्राफिक नियमबारे अभिमुखीकरण

जनकपुरधाम, २७ माघ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धनुषा जिल्लामा तालिमरत निर्वाचन प्रहरीहरूका लागि ट्राफिक सचेतनामूलक कक्षा सम्पन्न भएको छ । निर्वाचन अवधिमा सवारी दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्ने उद्देश्यले उक्त कक्षा सञ्चालन गरिएको हो ।
कार्यक्रममा ‘सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ र ‘सवारी नियमको पालना गरौं, दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं’ भन्ने मूल नारासहित सवारी दुर्घटना न्यूनीकरणमा निर्वाचन प्रहरीको भूमिका, सवारी चालक तथा सहचालकको जिम्मेवारी, सडक प्रयोगकर्ताको कर्तव्य र सवारी नियमसम्बन्धी कानुनी व्यवस्थाबारे प्रशिक्षण दिइएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट ९१६ जना, मातहतका ६ वटा इलाका प्रहरी कार्यालयबाट ९२५ जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण, धनुषाबाट ९३८ जना गरी जम्मा ४५२७ जना निर्वाचन प्रहरी उक्त कक्षाबाट लाभान्वित भएका छन् ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले निर्वाचन जस्तो संवेदनशील समयमा ट्राफिक सचेतनाको महत्व उल्लेख गर्दै भने, ‘निर्वाचन सुरक्षामा खटिने प्रहरी स्वयं अनुशासित र सचेत भए मात्र सर्वसाधारणमा सकारात्मक सन्देश जान्छ । सवारी नियमको पालना र सुरक्षित यात्राले दुर्घटना मात्र नभई निर्वाचन प्रक्रियालाई समेत सुरक्षित बनाउँछ ।’
उनले निर्वाचन प्रहरीहरूलाई ड्युटीका क्रममा सवारी नियमको कडाइका साथ पालना गर्न, सर्वसाधारणलाई सचेत गराउन र सुरक्षित सडक संस्कृतिको विकासमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।
ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार आगामी दिनमा पनि निर्वाचन सुरक्षासँग जोडिएका यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।





तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


