जनताको भरोसाले उत्साहित इन्जिनियर डा. कृष्णचन्द्र साह

जनकपुरधाम, २६ माघ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का तर्फबाट धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार इन्जिनियर डा. कृष्णचन्द्र साहले घरदैलो कार्यक्रमका क्रममा जनताबाट प्राप्त गरेको माया, विश्वास र समर्थनले आफूलाई थप जिम्मेवार र ऊर्जावान बनाएको बताएका छन् ।
घरदैलो अभियानका क्रममा गाउँ टोल, बस्ती र चोकचोकमा पुगेका साहले मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, अपेक्षा र सुझाव सुन्दै आएका छन् ।
यस क्रममा नागरिकले देखाएको उत्साह र अपनत्वले आफूलाई जनताको सेवामा अझ दृढ भएर लाग्न प्रेरणा दिएको उनको भनाइ छ ।
डा. साहले भने, ‘जनताले देखाएको विश्वास मेरो लागि ठूलो शक्ति हो । यो चुनाव जित्ने अभियान मात्र नभई धनुषा–४ का नागरिकको आवाज संघीय संसदसम्म पुर्याउने अभियान हो । यहाँका युवाको रोजगारी, किसानको हकहित, शिक्षा र स्वास्थ्यको गुणस्तर एवम् पूर्वाधार विकास मेरो प्राथमिकता हुनेछ ।’
उनले मधेशका जनताले लामो समयदेखि भोग्दै आएको विभेद र उपेक्षालाई अन्त्य गर्न संसदमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।
‘म राजनीतिक लाभका लागि नभई जनताको हकअधिकार सुनिश्चित गर्न राजनीतिमा आएको हुँ,’ उनले स्पष्ट पारे ।
साहका अनुसार धनुषा–४ का धेरै बस्ती अझै आधारभूत सुविधाबाट वञ्चित छन् । स्वच्छ खानेपानी, सिंचाइ, गुणस्तरीय शिक्षा, आधुनिक स्वास्थ्य सेवा र सुरक्षित सडकजस्ता विषयमा राज्यले अपेक्षित ध्यान नदिएको उनको आरोप छ ।
यी सबै समस्या समाधानका लागि दीर्घकालीन योजना बनाएर काम गर्ने उनको प्रतिबद्धता छ ।
घरदैलोका क्रममा स्थानीय महिला, युवा, किसान, व्यवसायी तथा बुद्धिजीवीसँग भएको छलफलले आफूलाई थप जिम्मेवार बनाएको उनले बताए ।
‘जनताले ममाथि ठूलो आशा राखेका छन् । त्यो भरोसालाई कहिल्यै टुट्न दिने छैन,’ उनले भने ।
डा. साहले विकास निर्माणसँगै सुशासन, पारदर्शिता र जवाफदेहितालाई आफ्नो प्रमुख एजेन्डा बनाएको उल्लेख गरे ।
सार्वजनिक स्रोतको दुरुपयोग रोक्न, भ्रष्टाचारविरुद्ध कडा आवाज उठाउन र इमानदार नेतृत्व स्थापित गर्न आफू दृढ रहेको उनको भनाइ छ ।
उनले युवालाई देशमै रोजगारी सिर्जना गर्ने, सीपमूलक तालिम विस्तार गर्ने र उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रम ल्याउन पहल गर्ने बताए ।
साथै किसानका उत्पादनलाई उचित मूल्य दिलाउने, मल–बीउको सहज उपलब्धता र आधुनिक कृषि प्रणाली विस्तारमा ध्यान दिने प्रतिबद्धता पनि व्यक्त गरे ।
साहले आगामी निर्वाचनलाई मधेश र धनुषाको भविष्य तय गर्ने महत्वपूर्ण अवसरको रूपमा व्याख्या गर्दै मतदातालाई सचेत भएर मतदान गर्न आग्रह गरे ।
‘यो चुनाव व्यक्तिको जित हारभन्दा पनि नीति, निष्ठा र जनताको हितको जित हो,’ उनले भने ।
उनले जनता समाजवादी पार्टी नेपालको चुनाव चिह्न ‘छाता’मा मतदान गरी आफूलाई विजयी गराउन अपिल गरे ।
‘छाता छापमा मतदान गरी मलाई नभई आफ्नो भविष्यलाई जिताउनुहोस्,’ भन्दै उनले मतदातासँग साथ र समर्थनको आग्रह गरे ।
स्थानीयस्तरमा सक्रिय, शिक्षित र विकासमुखी उम्मेदवारको रूपमा चिनिएका डा. साहको घरदैलो अभियानले धनुषा–४ मा चुनावी माहोललाई थप गर्माएको छ ।
जनतासँग प्रत्यक्ष संवाद, स्पष्ट एजेन्डा र दृढ प्रतिबद्धताका कारण आफूप्रति मतदाताको आकर्षण बढ्दै गएको उनको दावी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


