‘घरघर बल्ब’ अभियानमार्फत डा. राकेश मण्डलको सन्देश

महोत्तरी, २६ माघ । उज्यालो नेपाल पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सर्जन राकेश मण्डलले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो राजनीतिक यात्राको मूल आधार बनाउँदै महोत्तरी निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी अभियान अघि बढाएका छन् ।
स्थानीय स्तरदेखि केन्द्रीय राजनीतिसम्म पारदर्शिता, जवाफदेहिता र जनमुखी शासन प्रणाली स्थापित गर्ने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएका मण्डलले अबको राजनीति भाषणमा सीमित नभई काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हालै महोत्तरीका विभिन्न गाउँ तथा बस्तीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मण्डलले भने, ‘अब मधेशले आश्वासन नभई परिणाम खोजिरहेको छ । वर्षौंदेखि पछाडि पारिएको महोत्तरीलाई विकास, रोजगारी र सम्मानको केन्द्र बनाउने मेरो संकल्प हो ।’
उनले विगतका शासक दलहरूले जनताको भरोसा तोडेको आरोप लगाउँदै उज्यालो नेपाल पार्टी वैकल्पिक र विश्वासिलो राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै गएको दाबी गरे ।
‘हामी सत्ता नभई सेवा गर्न आएका हौं । राजनीति पैसा कमाउने माध्यम होइन, जनताको पीडा समाधान गर्ने साधन हो,’ उनले भने ।
मण्डलले महोत्तरी–२ का मुख्य समस्या शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ र बेरोजगारी रहेको उल्लेख गर्दै ती क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने बताए ।
युवाहरूलाई विदेश पलायन हुन बाध्य बनाउने अवस्था अन्त्य गर्न स्थानीय तहमा उद्योग, कृषि आधुनिकीकरण र सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
‘हाम्रो भूमि उर्वर छ, हाम्रो युवा सक्षम छन् । आवश्यक छ त मात्र इमानदार नेतृत्व र सही नीति । म त्यो नेतृत्व दिन तयार छु,’ मण्डलले स्पष्ट पारे ।
मधेशका दलित, महिला, पिछडावर्ग, किसान र श्रमिकको हकहितका लागि आफू निरन्तर लड्ने उनले प्रतिबद्धता जनाए । राज्यका नीति तथा कार्यक्रममा सबै नागरिकको समान पहुँच सुनिश्चित गराउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।
‘समाज तब मात्र बलियो हुन्छ, जब अन्तिम पंक्तिमा उभिएका नागरिक पनि राज्यको मूलधारमा आउँछन् । उज्यालो नेपाल पार्टीको राजनीति यही दर्शनमा आधारित छ,’ उनले भने ।
भ्रष्टाचार, ढिलासुस्ती र सत्ताको दुरुपयोगविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने मण्डलको दाबी छ । जनप्रतिनिधि बनेपछि सार्वजनिक खर्च, योजना छनोट र कार्यान्वयनमा पूर्ण पारदर्शिता अपनाइने उनले बताए ।
‘जनताको करको पैसा जनताकै सेवामा लाग्नुपर्छ । अब भ्रष्टाचारलाई सामान्य मान्ने संस्कार अन्त्य गर्नुपर्छ,’ उनले जोड दिए ।
महोत्तरी–२ मा मण्डलको चुनावी अभियानसँगै स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्म उत्साह बढ्दै गएको देखिन्छ । घरघरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने शैलीले जनताको विश्वास जित्दै गएको स्थानीयवासीको भनाइ छ ।
स्थानीय युवा नेता रवि यादव भन्छन्, ‘राकेश मण्डल अरू नेताजस्तो चुनावमा मात्रै देखिने व्यक्ति होइन । सधैं जनताबीच रहने भएकाले हामी उहाँमाथि भरोसा गर्छौं ।’
उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘बल्ब’लाई केन्द्रमा राख्दै मण्डलले ‘घरघर बल्ब, सबतर बल, सबके बल’ भन्ने नारासहित जनचेतना अभियान सञ्चालन गरिरहेका छन् ।
यस अभियानमार्फत विकास, चेतना र आशाको उज्यालो फैलाउने उद्देश्य रहेको उनको भनाइ छ ।
मण्डलले भने, ‘महोत्तरी–२ लाई उज्यालो बनाउने जिम्मा तपाईंहरूको हातमा छ । यदि तपाईंहरू परिवर्तन चाहनुहुन्छ भने बल्बमा मतदान गरेर उज्यालो भविष्य रोज्नुहोस् ।’
सुशासन, समृद्धि र सामाजिक न्यायको नारासहित अघि बढेका राकेश मण्डलको उम्मेदवारीले महोत्तरी–२ को राजनीतिक माहोललाई थप रोचक बनाएको छ । अब मतदाताले कसलाई विश्वास गर्छन् भन्ने निर्णय आगामी निर्वाचनले गर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


