वीरगञ्जमा गोदाम छापामारीका क्रममा झडप, तीन सशस्त्र प्रहरी घाइते

पर्सा,२६ माघ । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक कपडा गोदाममा छापा हान्न पुगेको सशस्त्र प्रहरी बल नेपाल र व्यापारीबीच झडप भएको छ । झडपमा तीन जना सशस्त्र प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् ।
राजस्व छलीको सूचनाका आधारमा वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोलीले ‘बबिता इन्टरप्राइजेज’ नामक गोदाममा छापा मारेको थियो ।
खानतलासी सुरु गरेलगत्तै स्थानीय व्यापारीहरूले विरोध जनाएपछि स्थिति तनावग्रस्त बनेको थियो ।
व्यापारीहरूले सामानसँग सम्बन्धित स्पष्ट बिलबिजक रहेको दाबी गर्दै अनावश्यक दुःख दिइएको आरोप लगाएका छन् । बिल देखाउँदा पनि सामान नियन्त्रणमा लिन खोजिएपछि विवाद चर्किएको उनीहरूको भनाइ छ ।
सशस्त्र प्रहरीका अनुसार आक्रोशित समूहले ढुङ्गामुढा गरेपछि झडपको अवस्था सिर्जना भएको हो । ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरीले प्रयोग गरेको गाडीको अगाडिको सिसा फुट्नुका साथै तीन जना प्रहरी घाइते भएका छन् ।
छापामारीका क्रममा गोदामबाट साडी, कुर्ता–सुरुवाललगायतका कपडाका सामग्रीका पाँच पोका नियन्त्रणमा लिइएको छ । प्रारम्भिक अनुमानअनुसार ती सामानको मूल्य करिब पाँच लाख रुपैयाँ बराबर रहेको बताइएको छ । यद्यपि, विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।
सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीका अनुसार हाल नियन्त्रणमा लिइएका सामानको लगत संकलन तथा मुचुल्का उठाउने कार्य भइरहेको छ ।
गोदामको स्वामित्व र सामानको वैधताबारे थप अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।
घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीय प्रशासनले शान्ति सुरक्षामा ध्यान दिँदै आवश्यक अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


