जनताको भरोसा जित्न मर्यादित अभियान अनिवार्य : विमलेन्द्र निधि

जनकपुरधाम, २६ माघ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आगामी निर्वाचनको प्रतिस्पर्धामा आफ्नो पक्ष कुनै पनि हिसाबले कमजोर नरहेको दाबी गर्दै पार्टी कार्यकर्ता र समर्थकलाई थप मेहनत र अनुशासित ढंगले चुनावी अभियान अघि बढाउन आग्रह गरेका छन् ।
धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेसका उम्मेदवार निधिले चुनावी अभियानका क्रममा कार्यकर्तासँगको भेटघाटमा भने, ‘चुनावी दौडमा हामी कसैसँग कमजोर छैनौँ । आवश्यक भनेको निरन्तर इफोर्ट, इमानदार मेहनत र संगठनात्मक एकता हो ।’ उनले उत्साहका साथ अघि बढ्न आग्रह गर्दै मर्यादित र जिम्मेवार राजनीतिक अभ्यास नै जितको आधार हुने बताए ।
नेता निधिले चुनावी गतिविधि सञ्चालन गर्दा अनुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । ‘अभियान मर्यादित र सभ्य हुनुपर्छ । व्यक्तिगत आक्षेप, उच्छृंखल गतिविधि वा असंयमित अभिव्यक्तिले आन्दोलनलाई कमजोर बनाउँछ,’ उनले भने, ‘हामी जनताको विश्वास जित्ने अभियानमा छौँ, त्यसैले व्यवहार पनि त्यसअनुसार हुनुपर्छ ।’
उनले विशेषगरी स्थानीय तहको भूमिकालाई निर्णायक बताउँदै प्रत्येक कार्यकर्तालाई आफ्नो वडा र टोलप्रति जिम्मेवार बन्न आग्रह गरे । ‘चुनाव केन्द्रीय नाराले मात्रै जितिँदैन । आफ्नो वडा, आफ्नो टोल, आफ्नो छिमेकमा के भइरहेको छ भन्ने कुरामा ध्यान दिनुपर्छ,’ निधिले भने । उनका अनुसार स्थानीय समस्या, मतदाताको अपेक्षा र गुनासोलाई बुझेर त्यसको समाधानका लागि पहल गर्नु नै प्रभावकारी चुनावी रणनीति हो ।
नेता निधिले संगठनात्मक बललाई कांग्रेसको मुख्य शक्ति बताउँदै आपसी समन्वय र एकतामा कुनै कमी आउन नदिन निर्देशन दिए । ‘हामीभित्र विभाजन नभई एकता चाहिन्छ । यही एकताले हामीलाई प्रतिस्पर्धामा अगाडि राख्छ,’ उनले भने ।
उनले कांग्रेसले लोकतान्त्रिक मूल्य, समावेशी विकास र सुशासनको एजेन्डा बोकेको उल्लेख गर्दै चुनावलाई सत्ताको लडाइँका रूपमा मात्र नभई जनतासँगको भरोसाको पुनः पुष्टि गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखे । ‘हामी जनतासँग मत माग्न गएका हौँ, शक्ति देखाउन होइन,’ उनले थपे ।
चुनावी सरगर्मी बढिरहेका बेला नेता निधिको यो आग्रहलाई कांग्रेस कार्यकर्ताबीच अभियानलाई थप अनुशासित, केन्द्रित र परिणाममुखी बनाउने सन्देशका रूपमा हेरिएको छ ।
स्थानीय तहमा केन्द्रित रणनीति र मर्यादित प्रचारमार्फत चुनावी प्रतिस्पर्धामा मजबुत उपस्थिति जनाउने तयारीमा पार्टी लागेको देखिन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


