जनकपुरधाम, २६ माघ । भवन निर्माणमा अनियमितता गरेको आरोपमा निलम्बनमा परेका मधेश प्रदेशका सांसद तथा नेकपा एमालेका नेता दीपेन्द्रकुमार ठाकुरविरुद्ध दायर भ्रष्टाचार मुद्दा विशेष अदालतले फुकुवा गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा पर्याप्त आधार नदेखिएको ठहर गर्दै अदालतले ठाकुरसहित सबै प्रतिवादीलाई सफाइ दिएको हो ।

अख्तियारले धनुषाको औरही गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माणका क्रममा हिनामिना भएको आरोप लगाउँदै निलम्बित प्रदेश सांसद ठाकुरसहित १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा प्रत्येक प्रतिवादीबाट ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ बिगो कायम गरी सोहीअनुसार कैद तथा जरिवानाको मागदाबी गरिएको थियो ।

तर, विशेष अदालतको संयुक्त इजलासका न्यायाधीशद्वय सुदर्शन देवभट्ट र हेमन्त रावलले सो रकम बराबरको हानी–नोक्सानी भएको पुष्टि नदेखिएको भन्दै कसुर स्थापित हुन नसक्ने ठहर गरेका छन् । सोही आधारमा अदालतले ठाकुरसहित सबै प्रतिवादीलाई आरोपबाट मुक्त गरेको हो ।

दीपेन्द्रकुमार ठाकुर धनुषा क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित मधेश प्रदेशसभा सदस्य हुन् । उनी नेकपा एमाले मधेश प्रदेश संसदीय दलका उपनेतासमेत रहेका छन् । साथै, उनी डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशकसमेत थिए ।

उक्त मुद्दामा औरही गाउँपालिकाका तत्कालीन जनप्रतिनिधि तथा कर्मचारीहरू पनि प्रतिवादी बनाइएका थिए । सफाइ पाउनेमा तत्कालीन गाउँपालिका अध्यक्ष ब्रम्हदेव यादव, उपाध्यक्ष मिरादेवी सहनी, प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर, विभिन्न वडाध्यक्षहरू, पालिकाका इन्जिनियर तथा सवइन्जिनियर, खरिदार तथा निर्माण कम्पनीका प्रतिनिधिहरू रहेका छन् ।

अदालतबाट सफाइ पाएसँगै यो मुद्दा कानुनी रूपमा टुंगिएको छ । यसअघि भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेका सांसद ठाकुरलाई मधेश प्रदेशसभाबाट उत्कृष्ट सांसदको सम्मानसहित पुरस्कार प्रदान गरिएको विषय पनि चर्चामा आएको थियो ।