सहजा खोलाको अलपत्र पुलले उब्जायो जनआक्रोश, पुतला दहन गर्दै हुलाकी सडक अवरुद्ध

सिरहा, २६ माघ । हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका–४ स्थित सहजा खोलामा निर्माणाधीन पुल वर्षौँदेखि अलपत्र परेपछि स्थानीयवासी आन्दोलित भएका छन् ।
पुल नहुँदा बारम्बार दुर्घटना भई सर्वसाधारणले ज्यान गुमाउनुपरेको भन्दै स्थानीयले सोमबार बिहान पुलकै अगाडि प्रदर्शन गर्दै हुलाकी सडक अवरुद्ध गरेका हुन् ।
हालै सहजा खोलामा भएको दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले प्रधानमन्त्री सुशील कार्की, सिरहाका सिडिओ तथा निर्माण ठेकेदार किशोरी साह कमलको पुतला दहन गर्दै विरोध जनाएका थिए । प्रदर्शनका क्रममा स्थानीयले प्रहरी, प्रशासन र निर्माण कम्पनीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

प्रदर्शनमा सहभागी स्थानीय दिपेन्द्र यादवले पुल निर्माण अलपत्र रहँदा दैनिकजसो दुर्घटना भइरहेको र निर्दोष नागरिकले ज्यान गुमाइरहनु परेको बताए । ‘कहिलेसम्म हामी जोखिम मोलेर यात्रा गर्ने ? पुल नहुँदा मृत्यु नै नियति बनेको छ,’ उनले आक्रोश व्यक्त गरे ।
अर्का स्थानीय लक्ष्मी प्रसाद यादवका अनुसार वर्षायाममा सहजा खोलामा बाढी आएपछि आवतजावत पूर्ण रूपमा ठप्प हुन्छ । ‘बाढी आउँदा गाउँ नै टापुजस्तै बन्छ । बिरामी, विद्यार्थी र यात्रु सबै समस्यामा पर्छन्,’ उनले भने ।
यसैगरी प्रदर्शनमा सहभागी अमित कुमार यादव (बन्ठा) ले पुल निर्माण सुरु भएको करिब चार वर्ष बितिसक्दा पनि काम सम्पन्न नहुनु सरकार र ठेकेदार दुवैको गम्भीर लापरबाही भएको आरोप लगाए । ‘बजेट पनि आयो, म्याद पनि सकियो, तर पुल बनेन । यसको जिम्मेवारी कसले लिने ?’ उनको प्रश्न छ ।

सहजा खोलामा पुल तथा कल्भर्ट निर्माणको ठेक्का २०७९ साल माघ १५ गते करिब ११ करोड ५४ लाख रुपैयाँ लागतमा सुगम निर्माण सेवा प्रा.लि., महेन्द्रनगर धनुषाले पाएको थियो । सम्झौताअनुसार निर्माणको म्याद सकिएर एकपटक थप गरिए पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन ।
निर्माण कम्पनीले करिब ४ करोड ४८ लाख रुपैयाँ भुक्तानी लिइसकेको भए पनि भौतिक प्रगति जम्मा ३९ प्रतिशत मात्र भएको छ । दरैयामा निर्माण हुनुपर्ने बक्स कल्भर्टको काम त हालसम्म सुरु नै नभएको जनाइएको छ ।
औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले पुल नहुँदा औरही, बरियारपट्टि, नवराजपुर, अर्नामा तथा सिरहा नगरपालिका क्षेत्रका हजारौँ नागरिक आवतजावतमा ठूलो समस्यामा परिरहेको बताए । ‘पटक पटक ठेकेदारसँग छलफल गर्यौं, तर काम अघि बढेन,’ उनले भने ।
हुलाकी सडक निर्देशनालय योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्ण कुमार महतोका अनुसार निर्माण ठेकेदार हाल सम्पर्कविहीन छन् । ‘एक साताभित्र सम्पर्कमा आएर काम सुरु नगरे ठेक्का तोड्ने तयारीमा छौँ,’ उनले भने ।

उनका अनुसार सिरहामा हुलाकी सडक अन्तर्गत रहेका पाँच योजनामध्ये हालसम्म लगदीगढियानी सडकको काम मात्र अघि बढेको छ । बाँकी योजनाहरू कहिले सुरु हुने भन्ने विषय अझै अनिश्चित रहेको छ ।
स्थानीयवासीले अलपत्र पुल तत्काल निर्माण नभए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । पटक पटकको दुर्घटना, जनआक्रोश र प्रशासनिक चेतावनीबीच सहजा खोलाको पुल कहिले पूरा हुन्छ भन्ने प्रश्न अझै अनुत्तरित छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


