महोत्तरी, २६ माघ । दशकौँदेखि उही नेताहरू निर्वाचित हुँदै आएको महोत्तरी क्षेत्र नम्बर २ आज पनि आधारभूत विकासका सवालमा पछाडि परेको भन्दै प्रश्न उठ्न थालेको छ ।

सडक, सिँचाइ, स्वास्थ्य र रोजगारीजस्ता न्यूनतम आवश्यकतामा समेत क्षेत्र पछि पर्नुको कारण के हो भन्ने बहस चुनावी सरगर्मी बढेसँगै तीव्र बन्दै गएको हो ।

यही सन्दर्भमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमण कुमार कर्णले महोत्तरी–२ को अवस्थामाथि प्रश्न उठाउँदै अब परिवर्तन अपरिहार्य भएको बताएका छन् । ‘यदि उही नेतृत्वले परिवर्तन ल्याउन सक्थ्यो भने आज महोत्तरी–२ यति पछाडि हुने थिएन,’ कर्णले भने, ‘दोष भाग्यलाई नभई गलत विकल्पलाई दिनुपर्छ ।’

उनका अनुसार महोत्तरी–२ मा दशकौँदेखि उही राजनीतिक अनुहारहरू दोहोरिँदै आए पनि विकासका नतिजा भने देखिन सकेनन् । ‘हामीले हरेक चुनावमा आश्वासन सुन्दै आयौँ । तर, आज पनि सडक अधुरा छन्, किसान सिँचाइको पहुँचबाट टाढा छन्, सामान्य उपचारका लागि समेत जनतालाई जनकपुर वा काठमाडौं धाउनुपर्ने अवस्था छ,’ उनले भने ।

कर्णले सबैभन्दा ठूलो समस्या युवाको भविष्यसँग जोडिएको बताए । ‘युवाले यहीँ सम्भावना देख्न सकेका छैनन् । रोजगारी छैन, अवसर छैन । यही कारण पलायन बढ्दो छ,’ उनले थपे, ‘यदि नेतृत्व जिम्मेवार हुन्थ्यो भने महोत्तरी–२ यस्तो अवस्थामा हुने थिएन ।’

एक अनुभवी अधिवक्तासमेत रहेका कर्ण आफू सत्ताको आकांक्षाले नभई सेवाको संकल्पका साथ राजनीतिमा आएको दाबी गर्छन् । ‘म संसदलाई पद र कुर्सीको थलो नभई जनताको आवाज बुलन्द गर्ने मञ्च बनाउन चाहन्छु,’ उनले भने । कानुन र संविधानको गहिरो ज्ञान भएका कारण नीति निर्माणमा प्रभावकारी भूमिका खेल्न सक्ने उनको विश्वास छ ।

उनले आफू कुनै पुरानो सत्ताको भार बोकेर नआएको उल्लेख गर्दै नयाँ सोच, पारदर्शी राजनीति र क्षेत्रकेन्द्रित योजनाका आधारमा काम गर्ने प्रतिबद्धता जनाए । ‘महोत्तरी–२ लाई केन्द्रमा राखेर योजना बनाउने नेतृत्व चाहिएको छ । यहाँको विकास कागजमा नभई जमिनमा देखिनुपर्छ,’ कर्णले भने ।

कर्णका अनुसार यस पटकको निर्वाचन सामान्य चुनाव मात्र नभई महोत्तरी–२ को दिशा बदल्ने अवसर हो । ‘यो चुनाव अनुहार रोज्ने नभई क्षमता रोज्ने हो । नारा नभई नतिजा खोज्ने हो,’ उनले भने, ‘जनतासँगै रहने, चुनावपछि हराउने होइन, जवाफदेही नेतृत्व अब आवश्यक छ ।’

उनले मतदातालाई सचेत निर्णय गर्न आह्वान गर्दै भने, ‘अब माग नभई अधिकार चाहिएको छ । अब प्रतीक्षा नभई परिवर्तन चाहिएको छ ।’ महोत्तरी–२ लाई देशको नक्सामा पछाडि परेको क्षेत्र नभई उदाहरणीय क्षेत्र बनाउने आफ्नो लक्ष्य रहेको उनले बताए ।

आगामी निर्वाचनमा मोबाइल चुनाव चिह्नमार्फत मतदान गर्न आग्रह गर्दै कर्णले भने, ‘परिवर्तन एक भोटबाट सुरु हुन्छ । महोत्तरी–२ को परिवर्तन मोबाइल छापबाट सुरु गरौँ ।’